गृहपृष्ठ गण्डकी प्रदेश सभा भवन खरानी, संसद् बैठक अन्योलमा

गण्डकी प्रदेश सभा भवन खरानी, संसद् बैठक अन्योलमा


आश्विन ५, २०८२

पोखरा — जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि गण्डकी प्रदेश सभा भवन पूर्ण रूपमा नष्ट भएको छ। पोखरामा सबैभन्दा ठूलो क्षति प्रदेश सभाले बेहोरेको हो।

प्रदेश सभाको सबै भवन जलेर खरानी भएका छन् भने परिसरभित्रका सवारी साधनसमेत तोडफोड र आगजनीमा परेका छन्। सचिवालयका अनुसार ६ वटा चारपाङ्ग्रे, १२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ३९ कम्प्युटर, १९ ल्यापटप, ४ डिजिटल क्यामेरा, ५ भिडियो क्यामेरा, ३८ फोटोकपी/प्रिन्टर, ९ टेलिभिजन स्क्रिन र ४४ एसी जलेर नष्ट भएका छन्

गण्डकी सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. टकराज गुरुङका अनुसार क्षतिको मूल्याङ्कनका लागि विज्ञ टोली खटाइएको छ। “तत्काल वैकल्पिक भवन खोजेर संसद् चलाउने तयारी भइरहेको छ, तर दसैँअघि सम्भव छैन,” उनले बताए। जिल्ला समन्वय समिति (जिसस) कास्कीको सभाहल र कृषि मन्त्रालयको हललाई अस्थायी विकल्पका रूपमा प्रस्ताव गरिएको छ।

तर, यी हलहरू साँघुरा भएकाले थप विकल्प पनि खोजिँदैछ। संसद् सचिवालय भने हालै जलेको परिसरमा सरसफाइ गरी तत्कालै कार्यालय सञ्चालन गर्ने तयारीमा छ। कर्मचारीहरूले भने कम्प्युटर र अभिलेख नष्ट भएकाले ‘काम नभएर दिनभरि गफमै समय बिताउने’ बताएका छन्।

सभामुख कृष्ण धितालले संसद् खारेज हुने खतरा अझै कायम रहेको उल्लेख गर्दै भने, “खारेज भयो भने कुरै सकिन्छ, नभए विकल्प खोजेर संसद् सुरु हुन्छ।” उनका अनुसार सचिवालयले वैकल्पिक स्थानको औपचारिक खोजी अझै सुरु गरेको छैन।

गण्डकी प्रदेश सभामा हाल ५९ सांसद छन्। मनाङका निर्विरोध सांसद राजीव गुरुङ (दीपक मनाङे) कर्तव्यज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका कारण उनको पद रिक्त छ।

यसैबीच, भग्नावशेषमै बसेको मन्त्रिपरिषद् बैठकले गाँजा खेती नियमन गर्ने विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ। तर संसद् भवन नष्ट भएकाले तत्काल विधेयक प्रक्रियामा लैजान चुनौती रहेको सरकारका अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु