गृहपृष्ठ जेनजी आन्दोलनमा चोरी भएका सामग्री फिर्ता गर्न मन्त्रालयहरूको आग्रह
जेनजी आन्दोलनमा चोरी भएका सामग्री फिर्ता गर्न मन्त्रालयहरूको आग्रह
आश्विन ५, २०८२
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा चोरी र लुटपाटमा परेका सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ।
आन्दोलनको क्रममा मन्त्रालय भवनमा तोडफोड र आगजनी हुँदा चार पांग्रे र दुई पांग्रे सवारीसाधनमा समेत आगो लगाइएको मन्त्रालयले जनाएको छ। साथै, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पंखा लगायतका सामान चोरी भएको मन्त्रालयले जानकारी दिएको छ
चोरीमा संलग्न व्यक्तिहरूको पहिचान सिसीटिभी फुटेजमार्फत भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कसैले कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए तत्काल मन्त्रालयमा वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।
यसैबीच, कृषि तथा पशुपन्छी मन्त्रालयले पनि आन्दोलनका क्रममा ल्यापटप, सिसी क्यामेरा, कम्प्युटर, डेस्कटप र मोटरसाइकलमा जडान गरिएका ब्याट्रीसहितका सामग्री चोरी भएको जनाएको छ। सो मन्त्रालयले पनि चोरीमा संलग्नहरूको सिसीटिभी फुटेज संकलन भइरहेको र संलग्नहरूलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।










