गृहपृष्ठ आमाको मुख हेर्ने दिनमा मातातीर्थमा श्रद्धालुको सागर, मातृऋण मुक्तिको कामना गर्दै हजारौँको भीड
आमाको मुख हेर्ने दिनमा मातातीर्थमा श्रद्धालुको सागर, मातृऋण मुक्तिको कामना गर्दै हजारौँको भीड
४ बैशाख २०८२,
आईतवार हरेक वर्षझैं, आज वैशाख कृष्ण औँसीका अवसरमा आमाप्रति नमन गर्ने पर्व ‘आमाको मुख हेर्ने दिन’ भव्य रूपमा मनाइँदैछ। बिहानैदेखि मातातीर्थको कुण्डमा श्रद्धालुको अपार भीड देखिन थालेको छ।
जिउँदो आमा भएका सन्तानहरू स्नान गरेर, आमालाई प्रिय परिकार चढाएर र आशीर्वाद लिँदै मातृऋण चुकाउन दौडिरहेका छन्। आमाविहीनहरूले मातातीर्थमा स्नान र श्राद्ध गरेपछि हरिहरको पूजा गरी दिवंगत आमाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
कसैले रातभर दीप जलाएर जाग्राम बसे, कसैले आमाको सम्झनामा आँसु चुहाए। धर्मशास्त्रविद् डा. वासुदेव कृष्ण शास्त्री भन्छन्, “जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा महान् हुन् भन्ने शास्त्रीय वाणी आज झन् अर्थपूर्ण बन्दै गएको छ।”
घर टाढा रहेका सन्तानहरूले आमालाई टेलिफोनमार्फत् श्रद्धाभाव प्रकट गरेका छन् भने, सामाजिक सञ्जाल आमाको तस्वीर र समर्पित सन्देशहरूले भरिएका छन्। श्रद्धा र समर्पणले आज नेपाली समाजमा अनौठो ऊर्जा भरिएको छ।










