गृहपृष्ठ शिक्षा मन्त्रालयको पुनः पहल: आज ७:३० बजे निर्णायक वार्ता तय
शिक्षा मन्त्रालयको पुनः पहल: आज ७:३० बजे निर्णायक वार्ता तय
१३ बैशाख २०८२, शनिबार
काठमाडौँ ।
आज बिहान सरकार र आन्दोलनरत शिक्षकबीच बहुप्रतीक्षित निर्णायक वार्ता हुँदैछ। शिक्षा मन्त्रालयले बिहान ७:३० बजेका लागि वार्ता तय भएको जनाएको छ। शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्तिमार्फत वार्ताका लागि शिक्षकहरूलाई आमन्त्रण गरेका हुन्।
यद्यपि शुक्रबारको प्रयास भने असफल भएको थियो। सिंहदरबार गेटसम्म पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधिहरू प्रवेश पास अभावका कारण फर्किनुपरेको थियो। उनीहरू फर्किएपछि शिक्षा मन्त्रालयका सहसचिव र एक डीएसपी पास लिएर गेट पुगेका थिए। तर वार्ता हुन सकेन। मन्त्रालयले प्राविधिक कारणले वार्ता नपुगेको बताएको छ।
शिक्षक नेताहरू भने असन्तुष्ट छन्। सरकारको तर्फबाट वार्ताका लागि प्रतिनिधि तोकिएको शैलीप्रति उनीहरूको गुनासो छ। उनीहरूका अनुसार सरकारको एकतर्फी निर्णयले वार्ता भाँडिएको हो।
नयाँ शिक्षा ऐन तुरुन्त ल्याउनुपर्ने माग गर्दै २५ दिनदेखि शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन्। यस आन्दोलनले देशभरका विद्यालय तहका शैक्षिक गतिविधिहरू ठप्प पारेको छ। विद्यार्थी भर्ना अभियानदेखि कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ। बोर्डले वैशाख ११ मा तय गरेको परीक्षा वैशाख २१ मा सारिएको छ।








