गृहपृष्ठ कोदोखेतीमा कृषकको चासो घट्दै, बजारमा माग बढ्दै
कोदोखेतीमा कृषकको चासो घट्दै, बजारमा माग बढ्दै
काठमाडौं । परम्परागत रूपमा मकैपछिको दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा चिनिँदै आएको कोदो खेतीप्रति किसानहरूको चासो दिनप्रतिदिन घट्दै गएको छ। कुनै समय पहाडी भेगमा व्यापक रूपमा उत्पादन हुँदै आएको कोदो अब भने किसानको प्राथमिकताबाट बिस्तारै बाहिरिँदै गएको देखिन्छ।
कृषि विकासमा संलग्न विज्ञहरूका अनुसार कोदो खेती गर्न कम खर्चिलो, सुक्खा तथा कम मलिलो जमिनमै उत्पादन गर्न सकिने तथा पोषणयुक्त बाली भएकाले यो खाद्य सुरक्षाको दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छ। तर पछिल्लो समय कोदो खेतीको क्षेत्रफल घट्दै गएको तथ्याङ्कहरूले यस बालीको भविष्यप्रति चिन्ता व्यक्त गरेको छ।
कृषकको चासो घट्दै, बजारमा माग बढ्दै
एकातिर किसानले कोदो खेतीप्रति अरुचि देखाइरहेका छन् भने अर्कातिर शहर बजारमा भने कोदोबाट तयार गरिने ढिँडो, सातु, लिटो, पुवा र खोलेजस्ता परिकारको माग बढ्दै गएको छ। यो विरोधाभासले कृषि नीति निर्मातालाई पुनर्विचार गर्न बाध्य पार्न सक्छ। ‘गरिबको खाना’ भनेर कहिल्यै उपेक्षित कोदो आज स्वास्थ्यप्रेमी उपभोक्ताको रोजाइ बन्न थालेको छ।
।बढ्दो पलायन, घट्दो परम्परा
कृषि ज्ञान केन्द्रका अनुसार पाल्पामा आर्थिक वर्ष २०८०/०८१ मा २,३६३ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो भने २०८१/०८२ मा घटेर २,३४९ हेक्टरमा सीमित भएको छ। प्राविधिक सुरज पाण्डेयका अनुसार किसान अब फलफूल जस्ता नगदे बालीतर्फ आकर्षित भइरहेका छन्। अर्कोतर्फ, युवापुस्ताको विदेश पलायन र शहर केन्द्रित जीवनशैलीले परम्परागत खेतीप्रति चासो घटाएको विश्लेषण गरिएको छ।
कोदोको पुनरुत्थान सम्भव?
स्थानीय बजारमा कोदो प्रतिपाथी १५० देखि १६० रुपैयाँसम्म विक्री भइरहे पनि यसको खेतीमा व्यावसायिक सम्भावना देखिएको छैन। खेती प्रणालीलाई यान्त्रिक बनाउन, बजारीकरण प्रवर्धन गर्न र मूल्य अभिवृद्धि गर्न सकिएमा कोदो खेती पुनः लोकप्रिय बनाउन सकिने विज्ञहरूको मत छ।
नेपाल जस्तो विविध भौगोलिक अवस्थायुक्त मुलुकमा, विशेष गरी खाद्य सुरक्षाका लागि कोदो खेतीको पुनरुत्थान आवश्यक छ। यसको उत्पादनमा देखिएको कमी कृषि प्रणालीको सन्तुलनमा असर गर्न सक्ने भएकाले नीति निर्माताहरूले दीर्घकालीन रणनीति तयार गर्नुपर्ने देखिन्छ।








