गृहपृष्ठ अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधारमा कार्यक्रम र अधिकार कार्यान्वयन अझै चुनौतीपूर्ण

अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधारमा कार्यक्रम र अधिकार कार्यान्वयन अझै चुनौतीपूर्ण


वैशाख ८ , २०८२

कल्पना घिमिरे

बुटवल – रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नगरपालिकाले सामाजिक सुरक्षा, शिक्षा, पूर्वाधार र क्षमता विकासका क्षेत्रमा केन्द्रित कार्यक्रमहरू लागू गर्दै समावेशी विकासतर्फ कदम अघि बढाएको जनाएको छ । तर, अधिकार कार्यान्वयनको पक्ष अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् ।

नगरपालिकाको तथ्यांकअनुसार नगरमा हाल २४१ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्, जसले मासिक ४,००० रुपैयाँका दरले भत्ता प्राप्त गर्दै आएका छन् । त्यस्तै २१२ जना अति अशक्त व्यक्तिहरुलाई मासिक २,१२८ रुपैयाँ उपलब्ध गराइँदै आएको छ । यो नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता हो । यसरी कुल ४२९ जना लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । नगरपालिकाले प्रत्येक महिनाको २५ गतेदेखि नियमित रूपमा भत्ता वितरण गर्दै आएको जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको सेवा पहुँचलाई सहज बनाउन नगरपालिकाले अपाङ्गता परिचयपत्र नविकरण सेवा उपलब्ध गराएको छ । साथै, अपाङ्गमैत्री भवन, शौचालय तथा हेल्प डेस्कको व्यवस्था गरी सार्वजनिक सेवा प्रवाहलाई समावेशी बनाउने प्रयास गरिएको छ । यस्ता संरचनाले सेवाग्राहीलाई सहज र सम्मानजनक वातावरणमा सेवा लिन सहयोग पुगेको नगरपालिकाको भनाइ छ । शिक्षा क्षेत्रमा पनि नगरपालिकाले विशेष प्राथमिकता दिएको छ । अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षामा पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालनमा छन् ।

शान्ति नमूना स्कूलमा हाल अटिजम भएका ३० जना, दृष्टिविहीन ५२ जना र श्रवणविहीन १५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमै बसोबास गर्ने विद्यार्थीलाई प्रति व्यक्ति वार्षिक ५०,००० रुपैयाँ प्रदान गरिन्छ भने घरबाट आउने विद्यार्थीलाई खाना तथा खाजाका लागि ५,००० रुपैयाँ सहयोग उपलब्ध गराइन्छ । साथै, उनीहरूको सिकाइ प्रभावकारी बनाउन आवश्यक शिक्षकको व्यवस्था पनि गरिएको छ ।

नगरपालिकाले क्षमता विकासका कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखेको छ । विशेषगरी दृष्टिविहीन महिलाहरूका लागि क्षमता अभिवृद्धि तथा सहायतासामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको छ । हाल वडा नं. १ र २ मा यस्ता विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भने आगामी दिनमा सबै वडामा विस्तार गर्ने योजना रहेको शिक्षा प्रमुख गंगाराम आचार्यले जानकारी दिएका छन् । यद्यपि, अपाङ्गता अधिकारकर्मी सावित्रा घिमिरेले भने वर्तमान अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन कमजोर रहेको बताएकी छन् । उनका अनुसार नेपालमा कानुनी व्यवस्था भए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

उनले भनिन्, “अपाङ्गता भएका व्यक्तिहरूलाई अझै पनि परिवार, समाज र राज्यले फरक दृष्टिकोणले हेर्ने प्रवृत्ति कायम छ ।” उनले यौनिकता तथा प्रजनन अधिकारसमेत पूर्ण रुपमा सुनिश्चित नभएको उल्लेख गरिन् । साथै भौगोलिक विकटता, पहुँचको अभाव र सामाजिक सोचका कारण उनीहरूको क्षमता कम आँकिने गरिएको उनको भनाइ छ । समग्रमा, तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न सकारात्मक पहलहरू थालेको देखिए पनि अधिकारको पूर्ण कार्यान्वयन र समान अवसर सुनिश्चित गर्न अझै थप प्रयास आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु