गृहपृष्ठ स्वास्थ्य मन्त्रालय घेर्न डाक्टरहरूको तयारी, संघको निर्णायक कदम

स्वास्थ्य मन्त्रालय घेर्न डाक्टरहरूको तयारी, संघको निर्णायक कदम


१० वैशाख, काठमाडौं — नेपाल चिकित्सक संघले काठमाडौं उपत्यका र बाहिरका चिकित्सकहरूलाई आन्दोलनमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। संघको विस्तारित कार्यसमिति तथा आवासीय चिकित्सकबीचको छलफलपछि यस्तो निर्णय गरिएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका कार्यकारी सदस्य तेत्छु मल्लले भने, “निजी मेडिकल कलेजमा कार्यरत डाक्टरहरूलाई आकस्मिक सेवा बाहेक सम्पूर्ण कामकाजबाट अलग भई संघर्षमा सामेल हुन अनुरोध गर्दछौं।”

उनले थपे, “काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरूलाई माइतीघर मण्डलामा भेला भई स्वास्थ्य मन्त्रालय घेराउ गर्न र उपत्यका बाहिरका चिकित्सकहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्न आग्रह गर्दछौं।” आन्दोलन बिहान १० बजेदेखि १२ बजेसम्म हुनेछ।

संघले चेतावनी दिएको छ — यदि २४ घन्टाभित्र माग सम्बोधन भएन भने आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारिनेछ।

सरकारको निष्क्रियता र निजी कलेजको मनपरी: २८ दिनदेखि सडकमा चिकित्सक
चिकित्सा शिक्षा आयोगले माघ २५ मा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तह अनुसारको तलब दिने निर्णय गरेको थियो। तर निजी मेडिकल कलेजहरूले उक्त निर्णयको अवज्ञा गर्दै निर्वाह भत्ता समेत नदिएको गुनासो संघको छ।

नाफा कमाउने उद्देश्यले एमबीबीएस तथा बीडीएस सिट र शुल्क बढाउने चलखेल भइरहेको भन्दै संघले निजी कलेजहरूलाई आरोप लगाएको छ।

कार्यकारी सदस्य मल्लका अनुसार, “आवासीय चिकित्सकहरू २८ दिनदेखि सडकमा छन्, तर सरकार उदासीन बनेको छ।”

धम्की र दबाब: निजी कलेजको चरम दमनको आरोप
चितवन मेडिकल कलेजका आवासीय चिकित्सक डा. विप्लव लामिछानेले कलेज प्रशासनले आन्दोलनरत चिकित्सकहरूमाथि मानसिक दबाब दिने र धम्कीपूर्ण व्यवहार गरिरहेको बताए।

“व्यक्तिगत रूपमा बोलाएर मानसिक यातना दिने, कक्षाबाट हटाउने, रजिष्ट्रेसन रोक्ने जस्ता डर देखाउने काम भइरहेको छ। केही साथीहरूलाई त गेटमै बोलाएर औपचारिक रूपमा धम्क्याउने प्रयाससमेत गरिएको छ,” उनले बताए।

उनको भनाइमा, “यो आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकहरूको अधिकार, आत्मसम्मान र भविष्यका लागि हो।”

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु