गृहपृष्ठ एकता टोल विकास संस्थाको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा तुलसीराम पाण्डेय निर्वाचित
एकता टोल विकास संस्थाको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा तुलसीराम पाण्डेय निर्वाचित
oplus_256
मंसिर ५ , २०८३
बुटवल टाइम्स
कल्पना घिमिरे
तिलोत्तमा । तिलोत्तमा नगरपालिका–२ मा रहेको एकता टोल विकास संस्थाको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले तुलसीराम पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिलबहादुर भट्टराई रहेका थिए।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन अर्जुन अर्याल र कोषाध्यक्षको प्रतिवेदन दुर्गाप्रसाद अर्यालले प्रस्तुत गरेका थिए।
प्रतिवेदन प्रस्तुतिपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष भट्टराईले टोल विकास संस्थाको काम सरसफाइमा मात्र सीमित नरहेको बताए। उनले टोलको सरसफाइ, सामाजिक एकता र विकासमा सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रत्येक महिनाको १ र १५ गते अनिवार्य रूपमा टोल सरसफाइ गर्नुपर्ने बताए।
टोल सञ्जालका अध्यक्ष धुर्व पाण्डेले
कस्तो समाज निर्माण गर्ने भन्ने कुरा हामी आफैँको भूमिकामा निर्भर रहने बताउँदै समाजलाई सकारात्मक दिशामा अघि बढाउन सबै टोलवासी जिम्मेवार र सक्रिय हुनुपर्ने धारणा राखे। संकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाषद सदस्य तुलाराम चापागाईंले सरसफाइ तथा व्यवस्थापनका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। उनले सरसफाइका लागि आवश्यक सामग्री उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
टोलका संस्थापक अध्यक्ष सुरेन्द्रराज बन्जाडे टोल विकास संस्थाले नगरपालिका तथा वडा कार्यालयबाट प्राप्त सूचना टोलवासीसम्म पुर्याउने र स्थानीय निकाय तथा नागरिकबीच समन्वय गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
बाल सञ्जालकी अध्यक्ष प्रमिला खरेलले बाल सञ्जालले टोलका बालबालिकाको सुखदुःख बुझ्ने, उनीहरूका समस्या पहिचान गर्ने तथा आवश्यक सहयोग र सहजीकरण गर्ने काम गर्दै आएको बताइन्।
त्यसैगरी फोहोरमैला व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि अर्यालले आफूले नेतृत्व सम्हालेपछि फोहोर व्यवस्थापनमा सुधार गर्दै आएको जानकारी दिए। उनका अनुसार यसअघि ७५ रुपैयाँ रहेको शुल्कलाई घटाएर ६५ रुपैयाँ कायम गरिएको थियो। दुई महिनाको छुटपछि हाल प्रति एकतला घरधुरीबाट मासिक ४० रुपैयाँ शुल्क लिने व्यवस्था गरिएको छ। टोलवासीबाट संकलित फोहोर बिक्री गरेर मासिक करिब एक लाख रुपैयाँ आम्दानी गर्न सफल भएको उनले बताए। यस्तै भुपु सैनिकका अध्यक्ष डाेर बहादुर थापाले चाडपर्वमा टाेलकाे सुरक्षामा खटिएको बताए ।
अधिवेशनले तुलसीराम पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा दुर्गा अर्याल, सचिवमा लीलामणि भट्टराई र कोषाध्यक्षमा रूपा ज्ञवाली निर्वाचित भएका छन्। सदस्यहरूमा गंगा पराजुली, कमला न्यौपाने, बुद्धप्रसाद श्रेष्ठ, मीना थापा, बसन्त श्रेष्ठ, विष्णु, सीता कर्णेल देवी पाण्डे चयन भएका छन्।
निर्वाचन समितिको संयोजकमा रमेश पौडेल तथा सदस्यहरूमा गिरिराज बन्जाडे र विष्णुकुमारी कार्की रहेका थिए।
अन्त्यमा नवनिर्वाचित अध्यक्ष तुलसीराम पाण्डेयले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण टोलवासीप्रति धन्यवाद व्यक्त गरे। उनले नयाँ कार्यसमितिले सबैसँग सहकार्य र समन्वय गर्दै टोलको सरसफाइ, विकास, सामाजिक एकता र व्यवस्थित व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। संस्थालाई थप प्रभावकारी बनाउन सबै टोलवासीको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रमको सञ्चालन सचिव चन्द्रकान्त ज्ञवालीले गरेका थिए ।
















