गृहपृष्ठ लुम्बिनी बौद्ध विश्वविद्यालयको संकाय पुनर्गठनले विद्यार्थीको भविष्य अन्योलमा
लुम्बिनी बौद्ध विश्वविद्यालयको संकाय पुनर्गठनले विद्यार्थीको भविष्य अन्योलमा
कार्तिक १५ ,२०८३
बुटवल टाइम्स
रूपन्देही । विश्वविद्यालयले यसअघि विभिन्न संकायअन्तर्गत सञ्चालन हुँदै आएका शैक्षिक कार्यक्रमलाई दुईवटा संकायमा समेट्ने निर्णय गरेपछि विद्यार्थीहरूले प्रमाणपत्रको मान्यता, समकक्षता र पेसागत अवसरबारे चिन्ता व्यक्त गरेका हुन्।
विश्वविद्यालय सभाको गत असार २६ गते बसेको बैठकले शैक्षिक कार्यक्रमलाई ‘फ्याकल्टी अफ बुद्धिस्ट स्टडिज’ र ‘फ्याकल्टी अफ अप्लाइड बुद्धिस्ट स्टडिज’ गरी दुईवटा संकायमा सीमित गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन, ग्रामीण विकास, विपद् जोखिम व्यवस्थापन तथा कृषि वनसम्बन्धी कार्यक्रमलाई प्रायोगिक बौद्ध अध्ययन संकायमा राखिएको हो।
विद्यार्थीहरूले आफूले अध्ययन गरेको विषयभन्दा फरक संकाय उल्लेख गरी ट्रान्सक्रिप्ट जारी गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूका अनुसार यसले उच्च शिक्षा, समकक्षता, सरकारी सेवामा प्रवेश तथा पेसागत मान्यतामा समस्या निम्त्याउन सक्छ।
विश्वविद्यालयका रजिस्ट्रार इन्द्र काफ्लेले भने संकाय संरचना परिवर्तन विश्वविद्यालय सभाको निर्णयअनुसार गरिएको बताउँदै ट्रान्सक्रिप्टमा देखिएको फरक संकाय प्राविधिक त्रुटि भएको र सच्याउन सकिने बताएका छन्।
तर विद्यार्थीहरूले प्रमाणपत्रको त्रुटि सच्याउनु मात्र पर्याप्त नहुने भन्दै सम्बन्धित विषयको शैक्षिक तथा पेसागत मान्यता सुनिश्चित गर्न माग गरेका छन्।














