गृहपृष्ठ नापजाँचको १४ वर्षपछि महोत्तरीका २५० परिवारले पाए लालपुर्जा

नापजाँचको १४ वर्षपछि महोत्तरीका २५० परिवारले पाए लालपुर्जा


असाेज २३, २०८३
बुटवल टाइम्स

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–१ का २५० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
लामो समयदेखि जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित रहेका स्थानीय परिवारले नापी कार्यालय महोत्तरीबाट लालपुर्जा प्राप्त गरेका हुन्। कार्यालयले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।
साविक एकडारा गाविसका वडा नं. १, २, ३, ४ र ६ समेटिएको उक्त क्षेत्रमा आर्थिक वर्ष २०६९/७० मै नापजाँच सम्पन्न भएको थियो। तर नापनक्सा सकिए पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले २५० परिवारले जग्गाको स्वामित्वसम्बन्धी प्रमाण प्राप्त गरेका हुन्।
लालपुर्जा प्राप्त भएपछि स्थानीय परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित हुनुका साथै जग्गासम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीय बासिन्दालाई जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन र जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्नसमेत सहयोग पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु