गृहपृष्ठ ’जेन्जी आन्दोलनको एक वर्षमा सभापति रविको संकल्प : ‘अब कुनै आमाको काख नरित्तियोस्’

’जेन्जी आन्दोलनको एक वर्षमा सभापति रविको संकल्प : ‘अब कुनै आमाको काख नरित्तियोस्’


भदौ २३,२०८३
बुटवल टाइम्स

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानबाट विचलित नहुने बताएका छन्।
लामिछानेले वर्षौंदेखिको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको उल्लेख गरेका छन्।
उनले आन्दोलनका क्रममा ज्यान गुमाउने अमर सहिद तथा कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते, अङ्गभङ्ग तथा मानसिक र शारीरिक चोट भोगेकाहरूको उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व राज्यले पूरा गर्नुपर्ने बताएका छन्।
लामिछानेले जेन्जी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरण भएको भन्दै कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो राजनीतिक लाभको औजार बनाउन नहुने बताएका छन्।
उनले युवा पुस्ताले परम्परागत राजनीतिक शैलीप्रति स्पष्ट अस्वीकृति जनाउँदै कुशासन स्वीकार्य नभएको सन्देश दिएको उल्लेख गर्दै नागरिक समाज र आम नागरिकलाई निरन्तर रचनात्मक खबरदारी तथा कार्यसम्पादनको निर्मम समीक्षा गर्न अपिल गरेका छन्।
‘परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्’ भन्दै उनले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्ने बताएका छन्। साथै, विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने दृढता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु