गृहपृष्ठ लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानद्वारा बाढीपीडितलाई १४ लाख १२ हजार सहयोग
लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानद्वारा बाढीपीडितलाई १४ लाख १२ हजार सहयोग
भदौ १८,२०८३
बुटवल टाइम्स
बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालले बाढीपीडितको राहतका लागि १४ लाख १२ हजार ३ सय ५९ रुपैयाँ सहयोग गरेको छ।
अस्पताल व्यवस्थापन समितिको बैठकले बाढी प्रभावित नागरिकलाई आर्थिक सहयोग गर्ने निर्णय गरेपछि उक्त रकम संकलन गरिएको हो।
अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार अस्पतालको तर्फबाट ७ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ। बाँकी रकम अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी तथा एमडी रेजिडेन्ट चिकित्सकबाट स्वेच्छिक रूपमा संकलन गरिएको हो।
बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अस्पतालका विभिन्न तहमा कार्यरत कर्मचारीले आफ्नो पारिश्रमिकबाट समेत स्वेच्छिक योगदान गरेका थिए।
अस्पतालले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन परिस्थितिमा राहत तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र सहयोगी निकायप्रति आभार व्यक्त गर्दै अस्पताल प्रशासनले संकटको समयमा आ–आफ्नो क्षेत्रबाट मानवीय सहयोगमा जुट्न सबैमा आग्रह गरेको छ।

















