गृहपृष्ठ बेरुत विस्फोटसम्बन्धी अभियोगमा रुसी जहाजका मालिक बुल्गेरियामा पक्राउ

बेरुत विस्फोटसम्बन्धी अभियोगमा रुसी जहाजका मालिक बुल्गेरियामा पक्राउ


आश्विन १, २०८

काठमाडौं । सन् २०२० मा बेरुत बन्दरगाहमा भएको भीषण विस्फोटसम्बन्धी अभियोगमा बुल्गेरियाले एक रुसी जहाजका मालिकलाई पक्राउ गरेको छ । पाँच वर्षअघि भएको उक्त विस्फोटमा २१८ जनाको ज्यान गएको थियो ।

बुल्गेरियाको सीमा प्रहरी प्रमुख जाद्राभ्को सामुइलोभका अनुसार, ४८ वर्षीय इगोर ग्रेचुस्किनलाई सेप्टेम्बर ६ मा साइप्रसको पाफोस सहरबाट सोफिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो । ग्रेचुस्किनसँग रुसी र साइप्रस दुवै देशको नागरिकता छ । उनले पक्राउको विरोध नगरेको र अनुसन्धानमा सहयोग गरेको बताइएको छ ।

उनमाथि गोदाममा भण्डारण गरिएको अमोनियम नाइट्रेट जहाजमार्फत बेरुत ल्याइएको अभियोग छ । लेबनानी अधिकारीहरूले मंगलबार पहिलोपटक ग्रेचुस्किन पक्राउ परेको पुष्टि गरेका थिए । यो गिरफ्तारी इन्टरपोलको रेड नोटिसको आधारमा गरिएको हो ।

सामुइलोवका अनुसार अदालतको आदेशअनुसार उनलाई अधिकतम ४० दिन हिरासतमा राखिएको छ । यस अवधिमा लेबनानमा सुपुर्दगीका लागि आवश्यक कागजात माग गरिएको छ । पाँच वर्षअघि लेबनानी न्यायाधीशले ग्रेचुस्किन र जहाजका कप्तान बोरिस प्रोकोशेभविरुद्ध इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गरेका थिए ।

सन् २०२० को अगस्ट ४ मा बेरुत बन्दरगाहमा भएको विस्फोटमा देशको मुख्य बन्दरगाह पूर्ण रूपमा नष्ट भएको थियो । करिब तीन लाख मानिस घरबारविहीन बनेका थिए भने १०–१५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको थियो । तर अहिलेसम्म कुनै पनि लेबनानी अधिकारीलाई दोषी ठहर गरिएको छैन ।

अधिकारीहरूका अनुसार २,७५० टन अमोनियम नाइट्रेटको अनुचित भण्डारण नै विस्फोटको मुख्य कारण थियो । उक्त रासायनिक पदार्थ सन् २०१३ मा मोल्दोभाको झण्डा बोकेको ‘एमभी रोसस’ नामक जहाजबाट बरामद गरिएको थियो । सो जहाजको मालिक ग्रेचुस्किन रहेको अभियोग छ ।

अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (OCCRP) का अनुसार, २०१३ को अन्त्यतिर बेरुत बन्दरगाहमा खतरनाक पदार्थ अलपत्र पर्नुमा पनि ग्रेचुस्किन प्रमुख व्यक्ति मानिएका थिए । जहाज हाल पनि त्यहीँ अलपत्र अवस्थामा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु