गृहपृष्ठ जेनजी आन्दोलनले कर्णालीमा अर्बौँको क्षति, सर्वाधिक प्रभावित सुर्खेत

जेनजी आन्दोलनले कर्णालीमा अर्बौँको क्षति, सर्वाधिक प्रभावित सुर्खेत


आश्विन १, २०८२

सुर्खेत । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले कर्णाली प्रदेशभर अर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको छ। आन्दोलनरत पक्षबाट भएको आगजनी र तोडफोडका कारण १० जिल्लामध्ये पाँच जिल्लामा मात्र ठूलो क्षति पुगेको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीको अनुगमनअनुसार सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी तथा निजी कार्यालय, पार्टी कार्यालय र जनप्रतिनिधिका निवासमा तोडफोड र आगजनी भएका छन्। बाँकी जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुम पश्चिममा भने प्रदर्शन भए पनि सार्वजनिक तथा निजी सम्पत्ति क्षति पुगेको छैन।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीका अनुसार सबैभन्दा बढी क्षति प्रदेश राजधानी सुर्खेतमा भएको छ। सुर्खेतमा मात्रै ४४ वटा संरचना क्षतिग्रस्त भएका छन्। तीमध्ये २८ सरकारी, ८ निजी, ५ राजनीतिक दलका कार्यालय र ३ संघसंस्थाका कार्यालय रहेका छन्।

राजधानी सुर्खेतमा व्यापक क्षति

आन्दोलनकारीहरूले प्रदेश सभा भवन, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, लेखा नियन्त्रक कार्यालय, जिल्ला समन्वय समिति, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालयसहित विभिन्न वडा कार्यालय तोडफोड र जलाएका छन्।

भेरी–बबई डाइभर्सन आयोजना, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, श्रीकृष्ण माध्यमिक विद्यालय, मुख्यमन्त्री र अन्य मन्त्रीहरूको निवास, नेपाल रेडक्रस उपशाखा, पुस्तकालयलगायत कार्यालयमा पनि आगजनी भएको छ।

त्यस्तै, कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाका पार्टी कार्यालय क्षतिग्रस्त भएका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेल र नगरप्रमुख मोहनमाया ढकालको निजी घर, पूर्व अस्पताल निर्देशक डा. डम्बर खड्काको निवास तथा पेट्रोलपम्पमा समेत क्षति पुगेको छ। आन्दोलनकारीले प्रदेश सभाभित्र रहेको बैंक एटीएमसमेत तोडफोड गरी जलाएका थिए।

सवारीसाधनतर्फ मात्र सुर्खेतमा ११ सरकारी गाडी, ८ मोटरसाइकल, २ निजी गाडी र ५ मोटरसाइकल क्षतिग्रस्त भएका छन्।

अन्य जिल्लामा पनि क्षति

जुम्लामा एक सरकारी र पाँच पार्टी कार्यालयमा तोडफोडसहित आगजनी भएको छ। त्यहाँ ८ सरकारी गाडी, ११ मोटरसाइकल, एम्बुलेन्स, शववहान र दमकल समेत तोडफोड गरिएका छन्।

कालिकोटमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका ७ पार्टी कार्यालय जलाइएका छन्।
मुगुमा कांग्रेस र एमाले कार्यालय तोडफोड ,डोल्पामा त्रिपुरासुन्दरी नगरपालिका–१ मा रहेको कांग्रेस कार्यालयसमेत क्षतिग्रस्त भएको छ।

आन्दोलनबाट अर्बौँ बराबरको सार्वजनिक तथा निजी सम्पत्ति क्षति पुग्नाका साथै सेवा प्रवाह गर्ने कार्यालयहरू अहिले काम गर्न नसक्ने अवस्थामा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु