गृहपृष्ठ गाजा सहरमा भीषण आक्रमण

गाजा सहरमा भीषण आक्रमण


 

भाद्र ३१, २०८२

काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार गाजा सहरमा रातभर चलेको भीषण आक्रमणपछि “गाजा जलिरहेको छ” भन्ने अभिव्यक्ति दिएका छन् । इजरायलले गाजामाथि थप सैन्य कारबाहीको योजना बनाइरहेको सन्दर्भमा उनको यो टिप्पणी आएको हो ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलबाट कतार जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै गाजामाथिको आक्रमण सुरु भइसकेको बताएका छन् । उनले भने, “इजरायलले त्यहाँ कारबाही सुरु गरिसकेको छ । त्यसैले हामीसँग सम्झौताका लागि धेरै समय छैन । हामीसँग अब केही दिन वा अधिकतम केही हप्ता मात्र बाँकी छ ।”

अमेरिकी मिडिया एक्सियोसले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै सेनाले गाजा सहर कब्जा गर्नका लागि स्थलगत आक्रमण सुरु गरेको दाबी गरेको छ । तर, टाइम्स अफ इजरायलका अनुसार इजरायली रक्षा बल (आईडीएफ) ले पछिल्ला दिनमा उत्तरी गाजामा हवाई आक्रमण तीव्र पारे पनि स्थलमार्गबाट सेना प्रवेश गराएको छैन ।

गाजाका प्रत्यक्षदर्शी र स्थानीय स्रोतहरूले पनि इजरायली ट्यांक गाजा सहरमा प्रवेश गरेको दाबीलाई खारेज गरेका छन् । तर, उनीहरूले सहरका अधिकांश क्षेत्रमा तीव्र हवाई आक्रमण र ड्रोनमार्फत बमबारी भइरहेको पुष्टि गरेका छन् । जसका कारण सहरभरि आगोको लप्का र बाक्लो कालो धुँवा देखिएको छ ।

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाका अनुसार सोमबार रातिदेखि नै सुरु भएको आक्रमण मंगलबार बिहान सबेरैसम्म निरन्तर रूपमा तीव्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु