गृहपृष्ठ जर्जियामा हुन्डाई कारखानामा अमेरिकी छापा, करिब ५०० पक्राउ, अधिकांश कोरियाली नागरिक

जर्जियामा हुन्डाई कारखानामा अमेरिकी छापा, करिब ५०० पक्राउ, अधिकांश कोरियाली नागरिक


  •  भदौ २१, २०८२

काठमाडौं — अमेरिकी राज्य जर्जियामा रहेको हुन्डाईको एक कारखानामा अमेरिकी अध्यागमन अधिकारीहरूले छापा मारेर करिब ५०० जनालाई पक्राउ गरेका छन्। पक्राउ परेकामध्ये अधिकांश कोरियाली नागरिक रहेको बताइएको छ।

यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा कार्यस्थलमा गरिएको सबैभन्दा ठूलो छापा मानिएको छ। उक्त कारखाना एक वर्षदेखि सञ्चालनमा रहेको छ र कोरियाली कम्पनीले विद्युतीय सवारीसाधन निर्माणका लागि बनाएको थियो।

दक्षिण कोरियाले यस छापाप्रति ‘चिन्ता र खेद’ व्यक्त गर्दै अमेरिकी सरकारसँग आफ्ना नागरिकको अधिकारको सम्मान गर्न आग्रह गरेको छ।

तर, अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार, पक्राउ परेकाहरूले ‘गैरकानुनी रोजगारी अभ्यास र अन्य गम्भीर संघीय अपराध’ गरेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको हो।

पूर्व राष्ट्रपति ट्रम्पले भने, “यो धेरै महिनादेखि चलिरहेको आपराधिक अनुसन्धान थियो। सुरुमा प्रमाण संकलन, अन्तर्वार्ता र कागजात संकलन गरियो। त्यसपछि अदालतबाट खोजी वारेन्ट प्राप्त गरेर छापा मारियो। यी कामदारहरू बाइडेनको समयमा अमेरिका आएका गैरकानुनी आप्रवासी हुन्।”

अध्यागमन अधिकारीहरूले अवैधरूपमा अमेरिकामा रहेका वा गैरकानुनीरूपमा काम गरिरहेका ४७५ जनालाई हिरासतमा लिएको जानकारी दिएका छन्। उनीहरूलाई जर्जियाको फोल्कस्टनमा रहेको यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (ICE) को सुविधा केन्द्रमा राखिएको छ। हिरासतमा लिइएका मध्ये करिब ३०० जना कोरियाली नागरिक रहेका छन्।

हुन्डाई मोटर कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ, “हाम्रो बुझाइअनुसार हिरासतमा लिइएका कोही पनि हुन्डाईका प्रत्यक्ष कर्मचारी होइनन्। हामी परिस्थिति नजिकबाट अनुगमन गर्दैछौं र परिस्थितिको बुझाइका लागि काम गर्दैछौं।”

होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्सका विशेष एजेन्ट स्टिभ श्रेन्कले पनि यसलाई ‘कानुनी प्रक्रियाअनुसार गरिएको छापा’ भएको बताए।

बीबीसीका अनुसार, यस घटनाले अमेरिकाको महत्त्वपूर्ण सहयोगी राष्ट्रसँगको सम्बन्धमा पनि तनाव उत्पन्न गर्न सक्ने संकेत देखाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु