गृहपृष्ठ क्यानडाको चुनावः कार्नीको जित, बहुमतबिना सत्ता पुनः लिबरलकै कब्जा
क्यानडाको चुनावः कार्नीको जित, बहुमतबिना सत्ता पुनः लिबरलकै कब्जा
१६ बैशाख २०८२, मंगलवार
क्यानडाको आमचुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीको जित, तर स्पष्ट बहुमत नपुग्दा अल्पसंख्यक सरकारको सम्भावना
क्यानडाको हालै सम्पन्न आमनिर्वाचनमा मार्क कार्नीको नेतृत्वमा रहेको लिबरल पार्टी विजयी बनेको छ। बीबीसीका अनुसार, लिबरल पार्टीले १६७ सिट जित्दै संसद्को सबैभन्दा ठूलो दलका रूपमा आफ्नो हैसियत कायम राख्न सफल भएको छ। यद्यपि, सरकार गठनका लागि आवश्यक १७२ सिट नपुगेकाले पार्टी पुनः अल्पसंख्यक सरकार गठन गर्ने देखिन्छ।
३४३ सिट रहेको हाउस अफ कमन्समा विपक्षी कन्जरभेटिभ पार्टीले १४५ सिट जितेको छ। सन् २०१५ मा स्पष्ट बहुमत हासिल गरेको लिबरल पार्टीले सन् २०१९ देखि अल्पसंख्यक सरकारको नेतृत्व गर्दै आएको हो।
यसपटक पहिलोपटक निर्वाचित पदमा पुगेका मार्क कार्नी पूर्व गभर्नरको रूपमा क्यानडा र बेलायत दुबैको केन्द्रीय बैंकमा सेवा गरिसकेका अनुभवी व्यक्तित्व हुन्। गत महिना उनले जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
चुनाव परिणामपछि सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा आलोचना गरे। उनले ट्रम्पले क्यानडामा विभाजन ल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यसलाई सफल हुन नदिइने चेतावनी दिए। साथै, उनले अमेरिकासँगको ‘पुरानो सम्बन्ध’ समाप्त भएको घोषणा पनि गरे।
ट्रम्पले हालै क्यानडालाई व्यापार युद्धको चेतावनी दिँदै त्यसलाई अमेरिकाको ५१औं राज्य बनाउने अभिव्यक्ति दिएका थिए, जसले दुई देशबीचको सम्बन्धमा थप चिसोपन ल्याएको छ।










