गृहपृष्ठ एम्नेस्टीको चेतावनी : ‘ट्रम्प प्रभाव’ले मानव अधिकारमाथि गहिरो आक्रमण
एम्नेस्टीको चेतावनी : ‘ट्रम्प प्रभाव’ले मानव अधिकारमाथि गहिरो आक्रमण
मङ्गलबार, १६ वैशाख २०८२
विश्वका विभिन्न मुलुकमा मानव अधिकारको अवस्थाबारे समेटिएको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै एम्नेस्टीले दशकौँदेखि सबैका लागि विश्वव्यापी मानव अधिकार स्थापना र प्रवर्द्धनका लागि भएका प्रयासहरूलाई मेटाउँदै ‘ट्रम्प प्रभाव’ले सन् २०२4 भरि अन्य नेताहरूका क्रियाकलापलाई झन् जटिल बनाएको उल्लेख गरेको छ। प्रतिवेदनले सम्पूर्ण मानवजातिलाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालचले रंगिएको क्रूर नयाँ युगतर्फ धकेलिएको चेतावनी दिएको छ।
एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार्डले वर्षैपिच्छे मानव अधिकारका उपलब्धिहरूबाट पछि हट्ने जोखिमबारे आफूहरूले चेतावनी दिँदै आएको उल्लेख गरेकी छन्।
उनले भनिन्, ‘प्रत्यक्ष प्रसारण भइरहे पनि कसैले वास्ता नगरेको गाजामा इजरायलद्वारा प्यालेस्टिनीहरूको जातीय संहार मात्र होइन, विगत १२ महिनाका घटनाहरूले शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुन त्याग्दा र बहुपक्षीय संस्थाहरू बेवास्ता गर्दा संसार कति भयावह बन्न सक्छ भन्ने उजागर गरेको छ। अहिलेको ऐतिहासिक मोडमा सरकार र नागरिक समाजले मानवतालाई सुरक्षित दिशातर्फ फर्काउन गम्भीर रूपमा काम गर्न जरुरी छ।’
महासचिव कालामार्डका अनुसार, दोस्रो कार्यकालका सय दिन पूरा गर्दै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वव्यापी मानवअधिकारप्रति चरम घृणा देखाएका छन्। अमेरिकी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित संस्था र पहलहरूलाई ट्रम्प सरकारद्वारा छिटो र जानाजान निशाना बनाइएको उनको आरोप छ।
उनले भनिन्, ‘बहुपक्षीयता, शरण, जातीय तथा लैङ्गिक न्याय, विश्वव्यापी स्वास्थ्य तथा जलवायु कार्यजस्ता अवधारणामाथि ट्रम्पले गरेका आक्रमणहरूले पहिल्यैदेखि कमजोर अवस्थामा रहेका सिद्धान्त र संस्थाहरूमा थप गम्भीर क्षति पुर्याएका छन्। यसले अन्य अधिकारविरोधी नेता तथा आन्दोलनहरूलाई पनि आक्रमणमा सहभागी हुन प्रेरणा दिएको छ।’
कालामार्डले चेतावनी दिँदै थपिन्, ‘तर हामी स्पष्ट हुनु पर्छ—यो विकृति केवल राष्ट्रपति ट्रम्पका क्रियाकलापहरूमा सीमित छैन। वर्षौँदेखि संसारभर विभिन्न देशमा स्वतन्त्र रूपमा काम गरिरहेका अधिनायकवादी आकांक्षी र निर्वाचित नेताहरूले विनाश फैलाउने क्रमिक अभ्यासलाई हामीले देख्दै आएका छौँ। जसरी ती नेताहरूले हामीलाई अशान्ति र क्रूरताको नयाँ युगतर्फ तानिरहेका छन्, त्यस्तै हामी स्वतन्त्रता र समानतामा विश्वास गर्नेहरूले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमाथि भइरहेको आक्रमणको दृढ प्रतिकार गर्नु अनिवार्य छ।’










