गृहपृष्ठ बुटवलमा कुकुर आतंक: एक हप्तामै २२२ जना घाइते

बुटवलमा कुकुर आतंक: एक हप्तामै २२२ जना घाइते


बुटवल — बुटवलमा दिनदहाडै कुकुरको टोकाइबाट सर्वसाधारण पीडित बन्न थालेका छन्। फाल्गुन २७ गतेदेखि गोलपार्क क्षेत्रमा मात्रै एकै दिन ४५ जना कुकुरको टोकाइबाट घाइते भएको तथ्यांकले देखाएको छ। ट्राफिक चोकमा सावित्रा काेइरालालाई कुकुरले टोक्दा हातको ठूलो नशा र मासु क्षतविक्षत भएर हड्डी समेत भाँचिएकोले उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शल्यक्रिया गर्नुपरेको छ।

घटनाका बेला कुकुरबाट श्रीमतीलाई बचाउने क्रममा उनका श्रीमान् हरिलाल पौडेल पनि घाइते भएका छन्। यसैगरी, बुटवल उपमहानगरपालिका वडा नं–९, तिनकुने नजिकै मोती पथमा बस्दै आएकी दीना थापा मगरलाई चैत्र ३ गते दिउँसो ३ बजे सिद्धार्थ कटेज अगाडि कुकुरले टोक्यो। उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको बेला उनी बेहोससमेत भएकी थिइन्। उनी अनुसार कुकुर खैरो रङको थियो।

चैत्र ५ गते दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी स्कुलअगाडि मोटरसाइकलमा सवार सुन्दर पाण्डेलाई पनि कुकुरले टोक्दा देब्रे खुट्टामा चोट लागेको छ। पाण्डेले कुकुर सेतो रङको रहेको बताए।

लुम्बिनी प्रादेशिक अस्पतालको एआरभी शाखाको तथ्यांक अनुसार फाल्गुन २९ गते ४५ जना, चैत्र १ गते २० जना, २ गते ४५ जना, ३ गते ९२ जना र ४ गते २० जना गरी जम्मा २२२ जना कुकुरको टोकाइबाट अस्पताल पुगेका छन्।

शाखा इञ्चार्ज तिलकराज गौतमका अनुसार गोलपार्क, कालिकानगर, सुख्खानगर, दीपनगर र नयाँ बसपार्क लगायतका क्षेत्रमा कुकुरको टोकाइ बढेको छ। हाल एआरभी इन्जेक्सन पर्याप्त भए पनि अवस्था यस्तै रहे आपूर्ति अभाव हुन सक्ने चिन्ता उनले व्यक्त गरे।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन निरीक्षक हरिप्रसाद आचार्यले हालको मौज्दातले एक महिना धान्ने भए पनि आवश्यकता अनुसार थप आपूर्ति आवश्यक हुने बताए।

बुटवल उपमहानगरको भेटेरिनरी शाखाका पशु चिकित्सक झविन्द्र बञ्जाडेले यस वर्ष उपमहानगर–११ मा ३०० कुकुरको बन्ध्याकरण गरिएको जनाए। साथै, कुकुर र बाँदर नियन्त्रणका लागि क्विक रेस्पोन्स टिम सक्रिय गरिएको बताइयो।

तर हालका टोकाइ घटनामा कुकुर बौलाहा रहेको पुष्टि नभएको र प्राविधिक परीक्षणपछि मात्रै यकिन गर्न सकिने भनिएको छ।

एक फिजिसियन डाक्टरका अनुसार अहिले देखिएका टोकाइहरू ‘थ्री डिग्री बाइट’ हुन्, जसले गम्भीर असर पुर्याउन सक्छ। यस्ता अवस्थामा एआरभीसँगै इआरआइजी र एचआरआइजी इन्जेक्सन पनि आवश्यक हुन्छ।

यस्तै, मंगलबार बुटवल वडा नं–९ स्थित शिवालय मन्दिरअगाडि तिलोत्तमा नगरपालिका वडा नं–१ की युनिस आलेको अनुहारमा कुकुरले टोक्दा गम्भीर घाइते भएकी छन्। अस्पताल स्रोत अनुसार उनको शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु