गृहपृष्ठ स्वदेशी उद्यमशीलताबिना समृद्धि असम्भव, नीतिगत अस्थिरता मुख्य बाधक
स्वदेशी उद्यमशीलताबिना समृद्धि असम्भव, नीतिगत अस्थिरता मुख्य बाधक
पुस १४, २०८२
बुटवल, समृद्ध नेपाली अर्थतन्त्रको दिगो आधार स्वदेशी उद्यमशीलताको विस्तार नै भएको निष्कर्षसहित रुपन्देही उद्योग संघले सोमबार ‘समृद्ध नेपालको आधारः स्वदेशी उद्यमशीलताको विस्तार– समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा अर्थशास्त्री, नीति निर्माता, उद्योगी र निजी क्षेत्रका प्रतिनिधिहरूले राजनीतिक अस्थिरता, नीतिगत अन्योल, कमजोर प्रशासन र स्वदेशी उत्पादनप्रति राज्यको उदासीनताका कारण नेपाली अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन्।
अर्थविद् डा. केशव आचार्यले नेपाली अर्थतन्त्रलाई ‘कस्तुरीको नाभी’ सँग तुलना गर्दै बाहिरी सूचक राम्रो देखिए पनि उत्पादन, रोजगारी र आन्तरिक माग कमजोर रहेको बताए। राजनीतिक अस्थिरताले आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पारेको उल्लेख गर्दै उहाँले उद्यमशीलतालाई सम्मान गर्ने संस्कार विकास हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो।
नेपाल उद्योग परिसंघका अध्यक्ष ई. वीरेन्द्र पाण्डेले निजी क्षेत्रको मनोबल गम्भीर रूपमा खस्किएको बताए। ब्याजदर घटे पनि कर्जा माग नबढ्नुको मुख्य कारण समग्र माग कमजोर हुनु रहेको उहाँको भनाइ थियो। ‘मेड इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
राष्ट्र बैंककी कामु गर्भनर डा. निलम ढंगानाले विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीति र केही आर्थिक परिसूचक सकारात्मक भए पनि राजस्व संकलन र खर्च सन्तोषजनक नभएको बताउनुभयो। ब्याजदर न्यूनतम हुँदा पनि बैंकमा रकम थुप्रिएको र कर्जा माग नआएको अवस्था चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो
डा. ढंगानाले पर्यटन, रेमिट्यान्स र जलविद्युत् उत्पादन सकारात्मक भए पनि दीर्घकालीन समाधान नभएको स्पष्ट पार्दै आर्थिक इकोसिस्टम सुधार, उद्योग–कृषि संरक्षण, लक्षित संरक्षण नीति, धार्मिक पर्यटनको ब्राण्डिङ र माग सिर्जना आवश्यक रहेको बताउनुभयो।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्ली अर्यालले प्रदेश सरकारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएको बताए। तर नीति निर्माण भए पनि कार्यान्वयन कमजोर रहेको सहभागी उद्यमी तथा विज्ञहरूको साझा गुनासो थियो।
उद्यमी समुन्द्र घिमिरेले गाउँ फर्क अभियान र रैथाने उत्पादनको ब्राण्डिङ आवश्यक रहेको बताए। उद्योग वाणिज्य संघ लुम्बिनीका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले स्वदेशी उत्पादन प्रयोगमा सरकार र उपभोक्ता दुवै जिम्मेवार हुनुपर्ने धारणा राखे। सरकारी कार्यालयमै स्वदेशी उत्पादन उपेक्षा हुने गरेको भन्दै उद्योगी निश्चल खनालले प्रश्न उठाए।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेलले सरकार फेरिँदा नीति फेरिने प्रवृत्तिले निजी क्षेत्रलाई निरुत्साहित बनाएको बताए। उद्योगी बालाराम भट्टराईले नीतिगत कमजोरीकै कारण रोजगारी र राजस्व दुवै गुम्ने जोखिम बढेको चेतावनी दिए।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार अन्तरक्रियाले निराशा होइन, स्पष्ट नीति, स्थिरता, अन्तरनिकाय समन्वय र कार्यान्वयनमुखी दृष्टिकोणको आवश्यकता औंल्याएको छ।










