गृहपृष्ठ आजसम्म चार दलले बुझाए समानुपातिक बन्दसूची
आजसम्म चार दलले बुझाए समानुपातिक बन्दसूची
पुस १४, २०८२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हालसम्म चार वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन आयोगका अनुसार आइतबार पहिलो दिन तीन दल र सोमबार थप एक दलले बन्दसूची पेश गरेका हुन्। आइतबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनप्रिय लोकतान्त्रिक पार्टी र थारु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बन्दसूची बुझाएका थिए।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार बन्दसूची बुझाउने अन्तिम दिन आजसम्म भए पनि साँझ ४ बजेसम्म आयोग परिसरभित्र प्रवेश गरिसकेका दलले प्रक्रिया पूरा नहुन्जेल बन्दसूची पेश गर्न सक्नेछन्।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले आजै बन्दसूची बुझाउने तयारी गरेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस १३ र १४ गतेसम्म पेस भएका समानुपातिक बन्दसूचीको छानबिन पुस १५ देखि २० गतेसम्म गरिनेछ। छानबिनपछि पुस २१ देखि २७ गतेसम्म दललाई बन्दसूची मिलाउन समय दिइनेछ।
पुस २८ देखि माघ ३ गतेसम्म मिलाइएको बन्दसूचीको पुनः परीक्षण गरिने र माघ ४ गते प्रारम्भिक बन्दसूची सार्वजनिक गरिने आयोगले जनाएको छ। अन्तिम बन्दसूची भने माघ २० गते प्रकाशन हुनेछ।
दलहरूले ११ देखि ११० जनासम्मको बन्दसूची बुझाउनुपर्ने व्यवस्था छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्।
समानुपातिक निर्वाचनका लागि १ सय राजनीतिक दलले ९३ निर्वाचन चिह्नसहित आयोगमा दर्ता गराएका छन्।










