गृहपृष्ठ मंसिरसम्म आयात–निर्यात दुवै बढ्यो, व्यापार घाटा कायमै

मंसिरसम्म आयात–निर्यात दुवै बढ्यो, व्यापार घाटा कायमै


पुस ७, २०८२

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म नेपालमा आयात र निर्यात दुवैमा वृद्धि भएको छ ।

विभागका अनुसार मंसिरसम्म कुल ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशतले बढी हो ।

यस्तै, सोही अवधिमा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा नेपालले कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, एलपी ग्यास, फलामजन्य सामग्री तथा स्मार्टफोन बढी आयात गरेको छ । तथ्यांकअनुसार ४६ अर्ब ९७ करोड रुपैयाँको कच्चा भटमासको तेल, ४५ अर्ब ६० करोडको डिजेल, २७ अर्ब ३३ करोडको पेट्रोल, २२ अर्ब ३९ करोडको खाना पकाउने ग्यास, २१ अर्ब ८४ करोडको फलामजन्य सामग्री तथा १९ अर्ब १३ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

यता, नेपालबाट प्रशोधित भटमासको तेल, अलैँची, गलैँचा, सूर्यमुखीको तेल, जुटजन्य सामग्रीलगायत वस्तु निर्यात भएका छन् । विभागका अनुसार ४६ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल, ५ अर्ब ५३ करोडको अलैँची, ३ अर्ब ७३ करोडको सूर्यमुखी तेल, २ अर्ब ७३ करोडको जुटजन्य सामग्री तथा २ अर्ब ५८ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।

निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको परिमाण धेरै भएकाले नेपालको व्यापार घाटा अझै बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु