गृहपृष्ठ बुटवलको औद्योगिक प्रदर्शनीमा दर्शकको अपार भीड, एकैदिन ६० हजारभन्दा बढीको सहभागिता
बुटवलको औद्योगिक प्रदर्शनीमा दर्शकको अपार भीड, एकैदिन ६० हजारभन्दा बढीको सहभागिता
पुस १०, २०८२
बुटवल, बुटवलमा सञ्चालन भइरहेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवले दर्शकको उल्लेखनीय आकर्षण पाएको छ। रुपन्देही उद्योग संघको आयोजनामा भइरहेको महोत्सवमा बिहीबार मात्र ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।
प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार क्रिसमसको सार्वजनिक बिदा र अनुकूल मौसमका कारण प्रदर्शनीस्थलमा बिहानदेखि रातिसम्म भीड लागेको थियो। प्रवेशद्वारदेखि स्टलहरू र सांस्कृतिक कार्यक्रमस्थलसम्म दर्शकले खचाखच भरिएको दृश्य देखिन्थ्यो।
पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्नेछ। दोस्रो बिदाको दिन परेकाले दर्शक संख्या उल्लेख्य रूपमा बढेको आयोजकको अनुमान छ। पहिलो सातामै करिब एक लाखभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्नुका साथै करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको संघले जनाएको छ।
संघका द्वितीय उपाध्यक्ष युवराज आचार्यका अनुसार बिहीबारको कारोबार र दर्शक संख्याको विस्तृत विवरण संकलन भइरहेको छ। प्रदर्शनीमा स्वदेशी उत्पादनका स्टलहरू मात्र राखिएको छ, जसले नेपाली उद्योगलाई प्रत्यक्ष रूपमा प्रवर्द्धन गरेको छ।
प्रदर्शनीका माध्यमबाट उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना हुनुका साथै प्रविधि, बजार विस्तार, पर्यटन प्रवर्द्धन र उद्यमशीलताका विषयमा अन्तरक्रिया भइरहेको महासचिव सुमन बस्यालले बताए।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनीमा ३९ जिल्लाका स्वदेशी उद्योगहरूको सहभागिता रहेको छ। १० वटा विभिन्न पेभिलियनमा उद्योग, कृषि, प्रविधि र पर्यटनसम्बन्धी सामग्री प्रदर्शन गरिएको छ।
आयोजकका अनुसार प्रदर्शनी अवधिभर करिब ८ लाख दर्शक भित्र्याउने र ३० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको छ। साथै दर्शकलाई आकर्षित गर्न लोकदोहोरी, सांगीतिक कार्यक्रम, हास्य प्रस्तुति, विद्यालयस्तरीय प्रतियोगिता तथा अन्य सांस्कृतिक गतिविधिहरू पनि समावेश गरिएको छ।










