गृहपृष्ठ वैकल्पिक राजनीति एकै मोर्चामा ल्याउने प्रयास, बालेन र जेन–जी अगुवाबीच छलफल

वैकल्पिक राजनीति एकै मोर्चामा ल्याउने प्रयास, बालेन र जेन–जी अगुवाबीच छलफल


पुस ११, २०८२

देशको वैकल्पिक राजनीतिक धारलाई एउटै मोर्चामा उभ्याउने प्रयास तीव्र बन्दै गएको संकेत देखिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सातै प्रदेशका जेन–जी अभियानका अगुवासँग भेट गरी साझा राजनीतिक रणनीतिबारे छलफल गरेका छन्।

ललितपुरको कुपण्डोलस्थित कुमार बेनको निवासमा बिहीबार भएको उक्त भेट करिब ३० मिनेट चलेको थियो। भेटमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता, सहकार्य र भावी निर्वाचन रणनीतिलाई केन्द्रमा राखेर संवाद भएको द काउन्सिल अफ जेन–जी लुम्बिनीका संयोजक आदित्य आचार्यले जानकारी दिए।

आचार्यका अनुसार छलफलमा सबै वैकल्पिक राजनीतिक शक्तिहरू एउटै मोर्चामा उभिनु आजको आवश्यकता भएको निष्कर्ष निकालिएको छ। रास्वपासँग सहकार्यको सम्भावना सकारात्मक देखिएको उल्लेख गर्दै उनले बालेन नेतृत्वको देश विकास पार्टीसँग समेत समन्वय हुन सक्ने सम्भावनाबारे कुरा भएको बताए।

भेटका क्रममा मेयर बालेनले जेन–जी अभियानसँग आबद्ध सबै समूहलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए। सहभागी अगुवाहरूले एउटै दल र एउटै चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागिता जनाए मात्रै संसदमा प्रभावकारी उपस्थिति जनाउन सकिने धारणा राखेका थिए।

नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले वैकल्पिक शक्तिहरूबीच एकता अपरिहार्य भएको बताउँदै साझा यात्राको खाका तयार गर्नुपर्नेमा जोड दिइन्। त्यस्तै, जेन फोर्सका संयोजक रोहनराज दंगालले बालेनले रवि लामिछाने र कुलमान घिसिङसँग समेत सहकार्यको सम्भावना रहेको विषयमा छलफल गरेको जानकारी दिए।

छलफलमा आगामी निर्वाचनमा २५ वर्ष पूरा गरेका युवालाई उम्मेदवार बनाउने योजनाबारे समेत कुरा भएको थियो। युवाको सक्रिय सहभागिताले राजनीतिमा नयाँ ऊर्जा र नयाँ सोच भित्र्याउने विश्वास व्यक्त गरिएको छ।

जेन–जी अभियानका अगुवाहरूले यो भेटलाई पुरानो राजनीतिक संरचना तोड्दै वैकल्पिक राजनीतिक धार निर्माणतर्फको महत्वपूर्ण मोडका रूपमा मूल्याङ्कन गरेका छन्। उनीहरूका अनुसार यो संवाद भावी राजनीतिक सहकार्यको स्पष्ट संकेत हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु