गृहपृष्ठ असोज २० भित्र कारागार नफर्कने कैदीबन्दीमाथि कानुनी कारबाही हुने विभागको चेतावनी
असोज २० भित्र कारागार नफर्कने कैदीबन्दीमाथि कानुनी कारबाही हुने विभागको चेतावनी
आश्विन ११, २०८२
काठमाडौँ — कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्किन आग्रह गरेको छ।
गृह मन्त्रालय, सुरक्षा निकाय र सरोकारवालाको समन्वयमा कैदीबन्दीलाई फिर्ता ल्याउने प्रक्रिया भइरहेको विभागले जनाएको छ। यस उद्देश्यका लागि ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन गरिएको छ।
विभागका निर्देशक तथा प्रवक्ता चोमेन्द्र न्यौपानेले अझै पनि उल्लेख्य संख्यामा कैदीबन्दी कारागार बाहिर रहेको स्पष्ट पार्दै तोकिएको समयसीमा भित्र नफर्किनेका हकमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिए।
शुक्रबार बसेको गृहमन्त्रीस्तरीय निर्णयअनुसार, फरार कैदीबन्दीको विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ। फरार अवस्थाको कैदीलाई लुकाउने, आश्रय दिने वा छिपाउने व्यक्तिलाई समेत कानुन अनुसार सजाय हुने प्रावधान रहेको विभागले जनाएको छ।
विभागका अनुसार, फर्किन बाँकी रहेका कैदीबन्दीको विवरण जिल्लाबाट नियमित रूपमा संकलन गरी माथिल्लो निकायमा पठाउने व्यवस्था गरिएको छ। खोजीलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, स्थानीय निकाय तथा अन्य संयन्त्रसँग समन्वय गरी छलफल गर्ने कार्यादेश समेत जारी गरिएको छ।
यसबाहेक, फरार कैदीबन्दीसम्बन्धी सूचना वा जानकारी उपलब्ध गराउन नागरिकलाई आह्वान गरिएको छ। यस्ता जानकारी संकलन गर्न कार्यदल वा सुरक्षा निकायको सम्पर्क नम्बर सञ्चारमाध्यम, सामाजिक सञ्जाल वा अन्य उपयुक्त माध्यममार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।