आश्विन ११, २०८२
काठमाडौँ । अर्थ मन्त्रालयले शुक्रबारदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (Integrated Office Management System) को सुरुवात गरेको छ । मन्त्री रामेश्वर खनालले मन्त्रालयभित्र फाइल स्वीकृत गर्ने प्रक्रियामार्फत प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन् ।
सरकारी निकायमा सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउँदै कार्यालयलाई कागजरहित बनाउने योजनाअनुरूप यो प्रणाली ल्याइएको अर्थमन्त्री खनालले बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले विकास गरेको यस प्रणालीको प्रयोग अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।
यसअन्तर्गत तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्र दर्ता तथा चलानी, हाजिरी, बिदा स्वीकृत, काज स्वीकृत र अभिलेख व्यवस्थापन जस्ता कार्यहरू विद्युतीय हस्ताक्षरमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार, प्रणाली कार्यान्वयनपछि निर्णय प्रक्रियामा तीव्रता, खर्चमा मितव्ययिता, कार्य प्रणालीमा पारदर्शिता र जवाफदेहिता वृद्धि हुने अपेक्षा गरिएको छ ।










