गृहपृष्ठ . अदालत र सरकारी वकिल कार्यालयमा लक्षित आगजनी, रवि लामिछानेसम्बन्धी फाइल पनि नष्ट

. अदालत र सरकारी वकिल कार्यालयमा लक्षित आगजनी, रवि लामिछानेसम्बन्धी फाइल पनि नष्ट


आश्विन ७, २०८२

पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला अदालतमा भएको आगजनीपछि सेवा ठप्प भएको छ । आन्दोलनकारीले भदौ २४ गते अदालत परिसरमा प्रवेश गरी सहकारीसम्बन्धी मुद्दा राखिएको फाँटमा लक्षित आगो लगाउँदा अधिकांश भवन जलेका छन् ।

अदालतका सूचना अधिकारीका अनुसार सुरुमै सहकारीको मुद्दा हेर्ने फाँटमा आगो लगाइयो, जहाँ पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीको फाइलसमेत थियो । उच्च अदालतमा पनि पुनरावेदन शाखा र सहकारी सम्बन्धी मिसिल जलेर नष्ट भएका छन् । करिब १५ कोठा पूर्ण रूपमा जलाइएको अधिकारीहरूले जनाएका छन् ।

अदालत मात्र नभई कास्की जिल्ला र उच्च सरकारी वकिल कार्यालयमा पनि सहकारीसम्बन्धी फाइल लक्षित गरेर आगो लगाइएको कर्मचारीहरूको दाबी छ । प्रत्यक्षदर्शीहरूका अनुसार प्रायः अपरिचित समूह पालैपालो आएर फाइल र दराज जलाएका थिए ।

सोही दिन कास्की जिल्ला कारागारबाट पनि २४ सहकारी ठगी आरोपितमध्ये २१ जना फरार भएका छन् । अहिलेसम्म तीन जनामात्रै फर्किएका छन् । बाँकी फरारलाई पक्राउ गरी कारबाही गर्न सहकारी पीडितहरूले माग गरेका छन् । कारागार प्रशासनले तोकिएको मितिभित्र नफर्केमा ६ महिनादेखि १० वर्षसम्मको सजाय हुने चेतावनी दिएको छ ।

यस घटनाले पोखरामै होइन, देशभर सहकारी काण्डसँग सम्बन्धित फाइलहरू योजनाबद्धरूपमा नष्ट गरिएको शंका थप बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु