गृहपृष्ठ भारतको प्रेस्टिज युनिभर्सिटी भवन विश्वकै उत्कृष्ट घोषित

भारतको प्रेस्टिज युनिभर्सिटी भवन विश्वकै उत्कृष्ट घोषित


मंसिर ९ , २०८३
बुटवल टाइम्स

भारतको मध्य प्रदेशस्थित इन्दौरमा रहेको प्रेस्टिज युनिभर्सिटीको भवनले सन् २०२६ को प्रतिष्ठित ‘वर्ल्ड बिल्डिङ अफ द इयर’ अवार्ड जितेको छ। विश्वका विभिन्न देशका उत्कृष्ट वास्तुकला परियोजनालाई पछि पार्दै उक्त भवनले वर्ल्ड आर्किटेक्चर फेस्टिभल (डब्ल्यूएएफ) को मुख्य पुरस्कार प्राप्त गरेको हो।

सञ्जय पुरी आर्किटेक्ट्सले डिजाइन गरेको उक्त भवन ३२ एकड क्षेत्रफलमा फैलिएको विश्वविद्यालय परिसरको हिस्सा हो। भवनको मुख्य आकर्षण खुड्किलाजस्तै एकपछि अर्को गर्दै तल झर्दै गएका खुला टेरेस हुन्। यी टेरेसलाई करिब ९ हजार विद्यार्थी अटाउन सक्ने विशाल खुला सभास्थलका रूपमा विकास गरिएको छ।
भवनको डिजाइन भारतका परम्परागत ‘स्टेपवेल’ अर्थात् खुड्किलायुक्त इनारबाट प्रेरित छ। विगतमा पानी भण्डारणसँगै सामुदायिक भेटघाट र सामाजिक गतिविधिका केन्द्रका रूपमा प्रयोग हुने यस्ता संरचनाको अवधारणालाई आधुनिक विश्वविद्यालय भवनमा समेटिएको छ।
भवनभित्र प्रशासनिक कार्यालय, सेमिनार हल, पुस्तकालय र क्याफेटेरियाका साथै हरियालीयुक्त खुला आँगनको व्यवस्था गरिएको छ। आँगनबाट प्राकृतिक प्रकाश र हावा भवनको भित्री भागसम्म पुग्ने गरी डिजाइन गरिएको छ।
इन्दौरको गर्मी मौसमलाई ध्यानमा राख्दै भवनमा छायायुक्त खुला स्थान र प्राकृतिक हावा आवतजावतको व्यवस्था गरिएको छ। यसले कृत्रिम प्रकाश र वातानुकूलन प्रणालीमाथिको निर्भरता कम गर्ने उद्देश्य राखेको छ।
वर्ल्ड आर्किटेक्चर फेस्टिभलको निर्णायक मण्डलले भवनको आकर्षक वास्तुकला, प्राकृतिक वातावरणसँगको समन्वय, शैक्षिक आवश्यकता र गर्मी मौसम अनुकूल डिजाइनको प्रशंसा गरेको थियो। हार्वर्ड ग्र्याजुएट स्कुल अफ डिजाइनकी प्राध्यापक ग्रेस लाको नेतृत्वमा रहेको निर्णायक मण्डलले विजेता छनोट गरेको हो।
अमेरिकाको फ्लोरिडास्थित फोर्ट लाउडरडेलमा नोभेम्बर १८ देखि २० सम्म आयोजित महोत्सवको १९औँ संस्करणमा ४२ विधाका परियोजनाबीच प्रतिस्पर्धा भएको थियो। नोभेम्बर २० मा महोत्सवको अन्तिम दिन प्रेस्टिज युनिभर्सिटी भवनलाई मुख्य विजेता घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु