गृहपृष्ठ देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत निर्वाचित

देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत निर्वाचित


मंसिर ,७ २०८३
बुटवल टाइम्स

रुपन्देही । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट राणा सर्वसम्मत सभापतिमा निर्वाचित भएको तयारी समितिका संयोजक गेहेन्द्र गिरीले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागी रहेको अधिवेशनमा सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । प्यूठानका सरोज थापा (रोज राणा), पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसालले उम्मेदवारी दिएका थिए ।
तीनै जनाबीच प्रतिस्पर्धा हुने अवस्था रहे पनि नेताहरूबीच भएको छलफल र सहमतिपछि राणालाई सर्वसम्मत सभापति बनाइएको नेता कृष्ण पोखरेलले बताए ।
राणा यसअघि लुम्बिनी प्रदेश सरकारको मन्त्री भइसकेका छन् भने हाल प्रदेशसभा सदस्यसमेत रहेका छन् ।
सभापति पदमा सहमति जुटे पनि अन्य पदाधिकारी तथा सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको तयारी समितिका संयोजक गिरीले बताएका छन् । बाँकी पदहरूमा पनि सहमति जुटाउन रातभर छलफल गरेर भए पनि टुंगो लगाइने उनको भनाइ छ ।
सोमबार दिउँसो आयोजित अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु