गृहपृष्ठ बुटवलमा तीनदिने ‘मिडिया मन्थन’ शुरू

बुटवलमा तीनदिने ‘मिडिया मन्थन’ शुरू


 

बैशाख २६ , २०८३

कल्पना घिमिरे

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा तीनदिने राष्ट्रिय सञ्चार सम्मेलन तथा ‘मिडिया मन्थन’ सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन हुने सम्मेलनमा देशभरका पत्रकार महासंघका प्रतिनिधि, केन्द्रीय पदाधिकारी, विभिन्न पत्रकार संगठनका अध्यक्ष तथा राष्ट्रिय र मोफसलका सञ्चारकर्मीहरूको सहभागिता रहने भएको छ ।
आयोजक महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेका अनुसार सम्मेलनमा रुपन्देही बाहिरबाट मात्रै एक सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् भने जिल्लास्थित पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित कुल सहभागिता तीन सयभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
सम्मेलनमा सञ्चार, स्थानीय सरकार, पर्यटन, उद्योग–व्यवसाय तथा डिजिटल मिडियासँग सम्बन्धित विभिन्न समसामयिक विषयमा प्यानल डिस्कसन र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने महासंघले जनाएको छ ।
महासंघ रुपन्देहीका सचिव सीपी खनालका अनुसार पहिलो दिन तीन तथा दोस्रो दिन छ वटा विषयमा समूहगत छलफल हुनेछ । तेस्रो दिन सातै प्रदेशबाट आएका प्रतिनिधिबीच प्रदेशगत पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाबारे बहस गरिनेछ । सम्मेलनको अन्तिम दिन ‘बुटवल घोषणापत्र’ जारी गर्दै कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा हुने छलफलका विषयहरूको तालिका :
पहिलो दिन (शनिबार)

कसरी बचाउने स्थानीय मिडिया ?

स्थानीय सरकार के गर्दैछन्, के गर्नुपर्छ ?

कसरी उभो लाग्छ उद्योग–व्यवसाय ?

दोस्रो दिन (आइतबार)

लुम्बिनीको पर्यटन : पर्यटक र पैसा कसरी भित्राउने ?

आर्थिक संकटमा मिडिया : अबको बाटो ?

प्रश्नको घेरामा मिडिया : कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

परम्परागत मिडियामाथि डिजिटल प्लेटफर्मको चुनौती

मिडिया नीति कस्तो हुनुपर्छ ?

मिडियाकर्मी : वाचडग कि राजनीतिक खेलाडी ?

तेस्रो दिन (सोमबार)

सातै प्रदेशका प्रतिनिधिबीच प्रदेशगत पत्रकारितामाथि छलफल

‘बुटवल घोषणापत्र’ जारी गर्दै सम्मेलन समापन

सम्मेलनका लागि देशभरबाट आउने प्रतिनिधिहरूको आवास तथा व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु