गृहपृष्ठ डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि नेप्सेको आजको कारोबार स्थगित

डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि नेप्सेको आजको कारोबार स्थगित


 

असाेज ५ , २०८३

बुटवल टाइम्स

काठमाडौं ।थापाथलीस्थित डाटा हब प्रालिमा प्राविधिक समस्या आएपछि सोमबारको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । उक्त डाटा सेन्टरमा नेप्सेका ७२ कारोबार सदस्य (ब्रोकर) कम्पनीका सर्भर राखिएका छन् ।

नेप्सेका अनुसार आइतबार (असोज ४) बिहानदेखि डाटा हबमा प्राविधिक समस्या देखिएको थियो । समस्या समाधानका लागि प्रयास भइरहे पनि सोमबार बिहानसम्म समाधान हुन सकेको थिएन ।

यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने देखिएपछि कारोबार स्थगित गरिएको हो । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत समस्या समाधान नभएसम्म सोमबारको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले केन्द्रीय नेप्से प्रणालीमा भने समस्या नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार डाटा हबमा सर्भर राखेका ब्रोकर कम्पनीहरूको प्रणालीमा समस्या आएको हो ।

‘नेपाल टेलिकमको फोन चलाउँदा मोबाइलमा समस्या आएजस्तै हो, टेलिकम (नेप्से)को प्रणालीमा समस्या आएको होइन,’ उनले बाह्रखरीसँग भने, ‘ब्रोकरहरूले सेवा लिने डाटा सेन्टरमा समस्या आएको हो ।’

नेप्सेमा कुल ९० कारोबार सदस्य रहेकामा ७२ भन्दा बढी ब्रोकरले कारोबार गर्न नसक्ने अवस्था भएपछि बाँकी ब्रोकरका लागि मात्र बजार सञ्चालन गर्नु उपयुक्त नहुने भएकाले सोमबारको पूरै कारोबार सत्र स्थगित गरिएको पराजुलीले बताए ।

प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको र जुनसुकै बेला समस्या समाधान हुन सक्ने भए पनि बीचमै कारोबार सुरु गर्दा थप जोखिम हुने भएकाले आजको कारोबार स्थगित गरिएको नेप्सेको भनाइ छ ।

कारोबार स्थगित हुँदा लगानीकर्तामा पर्न गएको असुविधाप्रति नेप्सेले दुःख व्यक्त गर्दै क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु