गृहपृष्ठ भारतबाट दैनिक १६० बुलेट ग्यास आयात गरी चाँडै आपूर्ति सहज बनाउने मन्त्री साहको भनाइ
भारतबाट दैनिक १६० बुलेट ग्यास आयात गरी चाँडै आपूर्ति सहज बनाउने मन्त्री साहको भनाइ
भदौ ३०,२०८३
बुटवल टाइम्स
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले भारतबाट दैनिक १६० बुलेटका दरले ग्यास आयात गरी चाँडै आपूर्ति सहज बनाउने बताएका छन्।
मंगलबार दिउँसो सञ्चारकर्मीसँगको अन्तर्क्रियामा मन्त्री साहले केही दिनसम्म नियमित रूपमा १६० बुलेट ग्यास नेपाल ल्याउने व्यवस्थापन भइसकेको जानकारी दिए। बजारमा ग्यास पठाएपछि खाली सिलिन्डर बोकेर डिलरअगाडि लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।
‘भारतबाट नियमित रूपमा अबको केही दिन १६० बुलेटका दरले ग्यास ल्याउन व्यवस्थापन भइसकेको छ,’ मन्त्री साहले भने, ‘उक्त ग्यास बजारमा पठाएपछि छिट्टै आपूर्ति सहज हुने अपेक्षा छ।’
यसअघि ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै आलोचना खेपेकी पूर्वमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन्। मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै उनले ग्यास आपूर्ति सहज बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगबाट ग्यास भरेर ट्रकमार्फत काठमाडौं ल्याउने गरिएको छ। तर, ट्रकमार्फत ढुवानी गर्दा मागअनुसार ग्यास ल्याउन नसकिएको उद्योगीहरूले बताएका छन्।
















