गृहपृष्ठ बाढी प्रभावितलाई लक्षित गरी नयाँ सहर बनाउने योजना छ : पूर्वाधारमन्त्री लम्साल
बाढी प्रभावितलाई लक्षित गरी नयाँ सहर बनाउने योजना छ : पूर्वाधारमन्त्री लम्साल
असाेज ५ , २०८३
बुटवल टाइम्स
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि नयाँ शहर विकास गर्ने योजना रहेको बताएका छन्।
प्रतिनिधिसभाको विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त भएकै स्थानमा पुनः बस्ती बसाल्न सम्भव नहुने बताए। उनले भूकम्पपछिको पुनर्निर्माणभन्दा फरक ढंगले अघि बढ्दै क्षतिग्रस्त स्थानमा पुरानै बस्ती फर्काउने योजना नरहेको स्पष्ट पारे।
उनका अनुसार नयाँ शहरमा उद्योग, अस्पताल, विद्यालयलगायत आवश्यक सबै सुविधा समेटिनेछ। त्यसका लागि आवश्यक जग्गा खरिद गरेर नयाँ शहर निर्माण गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए।
बाढीले स्थानीय सरकारलाई विपद्सँग जुध्न थप सुविधा सम्पन्न र सक्षम बनाउनुपर्ने पाठसमेत सिकाएको मन्त्री लम्सालले बताए।

















