गृहपृष्ठ महासभामा नेपालको धारणा प्रस्तुत गर्नुअघि कांग्रेस नेतासँग प्रधानमन्त्री बालेनको छलफल
महासभामा नेपालको धारणा प्रस्तुत गर्नुअघि कांग्रेस नेतासँग प्रधानमन्त्री बालेनको छलफल
असाेज ५ , २०८३
बुटवल टाइम्स
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री शाहले कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग छलफल गरेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक विषयमा छलफल गर्न प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा कांग्रेसका नेताहरूले महासभामा नेपालका तर्फबाट उठाउनुपर्ने विषयबारे पार्टीको धारणा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।
कांग्रेस उपसभापति शर्माका अनुसार पार्टी सभापति गगन थापा र कांग्रेसको समग्र धारणा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। साथै, प्रधानमन्त्रीको भ्रमणका क्रममा मुलुकका प्रमुख विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्नेमा कांग्रेसले जोड दिएको उनले बताए।
शर्माले भोटेकोशी बाढीपहिरोबाट भएको क्षतिलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री सफल हुने अपेक्षा कांग्रेसले राखेको बताए।
प्रधानमन्त्री शाह मंगलबार अपराह्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

















