गृहपृष्ठ रसुवा बाढीमा बेपत्ताको खोजी जारी, जीवित भेटिने सम्भावना न्यून : गृहसचिव
रसुवा बाढीमा बेपत्ताको खोजी जारी, जीवित भेटिने सम्भावना न्यून : गृहसचिव
असाेज ५ , २०८३
बुटवल टाइम्स
काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवितै भेटिने सम्भावना कम रहेको बताएका छन् । यद्यपि सम्भावना रहेसम्म खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइने उनले बताएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा शर्माले विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता भएकाहरूको खोजी जारी रहेको जानकारी दिए । भौगोलिक अवस्था, प्रविधिको अभाव र कठिन परिस्थितिका कारण कतिपय सुरुङमा उद्धार टोली प्रवेश गर्नसमेत समय लागेको उनले बताए ।
अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था निकै कठिन रहेको बताएका शर्माले जानकारी दिए । उनका अनुसार खोज तथा उद्धारमा खटिएका सुरक्षा निकायका प्रमुख र विपद् विज्ञहरूसँग सम्भावना रहेसम्म खोजी जारी राख्ने विषयमा छलफल भइरहेको छ ।
‘अहिले हाम्रो ध्यान खोज र उद्धारमा नै छ । यसपछि विस्तारै राहतमा जान्छौँ । त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको काम हुन्छ,’ उनले भने, ‘खोज र उद्धारमा अब जीवितै पाइने सम्भावना अलि कम छ । यद्यपि अन्तर्राष्ट्रिय अभ्यासमा २१ दिनपछि पनि जीवितै भेटिएका उदाहरण छन् ।’
सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा प्राविधिक तथा भौगोलिक चुनौती रहेको उनले बताए । ‘कतिपय टेक्नोलोजी हामीसँग भएन, विषम परिस्थिति थियो र भौगोलिक अवस्था गाह्रो थियो,’ उनले भने, ‘अन्य देशबाट आएका खोज तथा उद्धारका विज्ञहरूले पनि त्यहाँको भूगोल हेरेपछि अवस्था निकै कठिन रहेको बताउनुभएको छ । त्यसकारण खोज तथा उद्धार कार्यमा केही ढिलाइ भयो।’
सचिव शर्माले बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षणमा स्थानीय तहसँग समन्वय भइरहेको पनि जानकारी दिए । बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको उनले बताए ।
उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको उनको भनाइ छ । स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थाहरूले समेत केही होल्डिङ सेन्टरमा रहेका बालबालिकाको व्यवस्थापनमा सहयोग गरिरहेको उनले जानकारी दिए ।
हालसम्म बालबालिकाको अवस्थाबारे गम्भीर विचलन वा थप समस्या देखिएको छैन । खोज तथा उद्धारपछि राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई क्रमशः अघि बढाइने गृहसचिव शर्माले बताए।

















