गृहपृष्ठ सरकारको पूँजीगत खर्च २५ प्रतिशत मात्र, लक्ष्य पूरा हुने सम्भावना कम
सरकारको पूँजीगत खर्च २५ प्रतिशत मात्र, लक्ष्य पूरा हुने सम्भावना कम
१४ चैत, काठमाडौं। चालु आर्थिक वर्षको नवौं महिना सकिनै लागेको छ, तर पूँजीगत खर्चको गति निकै सुस्त रहेको देखिन्छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंगलबारसम्म कुल ८८ अर्ब २० करोड ८६ लाख रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ, जुन वार्षिक लक्ष्यको २५।०३ प्रतिशत मात्र हो। सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो।
अर्थ मन्त्रालयले ११ चैतसम्मका सबै मन्त्रालयको पूँजीगत खर्चको विश्लेषण गरेको छ, जसअनुसार एक दर्जन मन्त्रालयको खर्च गत वर्षको तुलनामा घटेको देखिएको छ।
सबैभन्दा कमजोर प्रदर्शन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय को रहेको छ। यो मन्त्रालयले ११ चैतसम्म ७ करोड ८५ लाख रुपैयाँ मात्र पूँजीगत खर्च गरेको छ, जुन कुल लक्ष्यको ३।७३ प्रतिशत मात्र हो। गत वर्षको यही अवधिमा मन्त्रालयले ३३ करोड रुपैयाँ खर्च गरिसकेको थियो, जसको तुलनामा यस वर्षको खर्च ७६।२१ प्रतिशतले घटेको छ।
दोस्रो स्थानमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ। यस मन्त्रालयको चालु आर्थिक वर्षका लागि ४ अर्ब ७७ करोड ७ लाख रुपैयाँ पूँजीगत बजेट विनियोजन गरिएको थियो। तर, अहिलेसम्म ३५ करोड ९५ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन गत वर्षको तुलनामा ६९।४८ प्रतिशतले कम हो।
तेस्रो स्थानमा रक्षा मन्त्रालय रहेको छ। यस मन्त्रालयका लागि ५ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ पूँजीगत खर्चको बजेट छुट्याइएको थियो, तर ११ चैतसम्म मात्र ८२ करोड २२ लाख रुपैयाँ खर्च हुन सकेको छ। यो गत वर्षको तुलनामा ६१।३४ प्रतिशतले कम हो।
पूँजीगत खर्चको सुस्त गति विकास योजनाहरू प्रभावित हुने संकेत भएकाले आगामी महिनाहरूमा सरकारले खर्च वृद्धि गर्न विशेष योजना बनाउनुपर्ने देखिन्छ।










