गृहपृष्ठ संक्रमणकालीन न्यायमा राजनीति गर्न नहुने: अध्यक्ष प्रचण्ड

संक्रमणकालीन न्यायमा राजनीति गर्न नहुने: अध्यक्ष प्रचण्ड


काठमाडौं,  १४ चैत। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा राजनीति गर्न नहुने बताएका छन्। उनले पीडितहरूलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनुपर्नेमा विशेष जोड दिए।

काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा शान्ति प्रक्रिया मौलिक ढंगले अघि बढिरहेको बताए। उनले द्वन्द्व पीडितलाई न्याय प्रदान गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै भने, “मात्रै त्यसरी नै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ।”

प्रमुख राजनीतिक दलहरूबीच संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने विषयमा कुनै विमति नरहेको पनि उनले स्पष्ट गरे। उनले भने, “राजनीतिक दलहरूबीच विवादहरू छन्। कोही सत्तापक्षमा छन्, कोही प्रतिपक्षमा छन्, सदनमा बहस जारी छ। तर, यी तमाम विमति र विवादका बीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने कुरामा हामी कहिल्यै विवादमा परेका छैनौं।”

संक्रमणकालीन न्यायलाई राष्ट्रिय मुद्दा भन्दै उनले यसमा राजनीति गर्न नहुने बताए। उनले प्रक्रिया टुंगोमा पुग्न ढिला हुनुका पछाडि कहिले प्राविधिक, कहिले कानुनी, त कहिले राजनीतिक समस्याहरू रहेको उल्लेख गरे।

नेपालको विशेष परिस्थितिअनुसार नै संक्रमणकालीन न्यायलाई अघि बढाउनुपर्ने उनले बताए। प्रचण्डले भने, “यो फौजदारी कानुन जस्तो होइन। संक्रमणकालीन न्यायका आफ्नै आधारभूत मान्यताहरू छन्, जसलाई सम्बन्धित देशको मौलिक विशेषताअनुसार हेर्नुपर्छ।”

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु