गृहपृष्ठ कुलमान घिसिङसमक्ष कञ्चनपुरका पूर्वाधार योजनाका कानुनी अड्चन हटाउन उद्योग वाणिज्य सङ्घको माग
कुलमान घिसिङसमक्ष कञ्चनपुरका पूर्वाधार योजनाका कानुनी अड्चन हटाउन उद्योग वाणिज्य सङ्घको माग
पुस ३, २०८२
धनगढी । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठूला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माण कार्यलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएको छ।
बुधवार जिल्लाका विभिन्न विकास आयोजना अनुगमनका लागि कञ्चनपुर पुगेका मन्त्री घिसिङलाई सङ्घका अध्यक्ष पीताम्बर जोशीले सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।
ज्ञापनपत्रमा महाकाली करिडोरको शीघ्र निर्माण, सुख्खा बन्दरगाह तथा मझगाउँ विमानस्थल निर्माणमा देखिएका कानुनी अड्चन तत्काल समाधान गरी निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ। साथै सीमा क्षेत्रका विविध समस्या समाधानका लागि सरकारको सक्रिय पहल आवश्यक रहेको उल्लेख गरिएको छ।
यसैगरी उद्योगी–व्यवसायीले ‘डिमान्ड लाइन’ बापत तिर्नुपर्ने विद्युत् शुल्क तथा आम उपभोक्ताले विद्युत् उपभोग गरेबापत तिर्दै आएको अत्यधिक विलम्ब शुल्क घटाउनुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।
सङ्घका अध्यक्ष जोशीले कञ्चनपुरका विकास आयोजना समयमा सम्पन्न नहुँदा आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै कानुनी झमेलाका कारण अलपत्र परेका योजनालाई सहज बनाइनुपर्नेमा जोड दिएका छन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री घिसिङले सङ्घका मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।










