गृहपृष्ठ प्रदूषण नियन्त्रण लक्ष्यसहित दिल्लीमा तीन क्लाउड सिडिङ ट्रायल

प्रदूषण नियन्त्रण लक्ष्यसहित दिल्लीमा तीन क्लाउड सिडिङ ट्रायल


  •  कात्तिक १२, २०८२

काठमाडौं । भारतको राजधानी दिल्लीमा मंगलबार ‘क्लाउड सिडिङ’ को दोस्रो चरणमा तीन ट्रायल गरिएको छ ।

दिल्लीका वातावरण मन्त्री मनजिन्दर सिंह सिरसाले ती तीनै ट्रायल सम्पन्न भएको पुष्टि गर्दै यसको नतिजा आईआईटी कानपुरले चाँडै सार्वजनिक गर्ने बताए ।

यी ट्रायलहरू सेप्टेम्बर २५ मा आईआईटी कानपुरसँग गरिएको सम्झौता अन्तर्गत उत्तर–पश्चिम दिल्ली क्षेत्रमा गरिएको हो । नागरिक उड्डयन महानिर्देशनालयले अक्टोबर र नोभेम्बर महिनामा ट्रायल सञ्चालन गर्न अनुमति दिएको थियो ।

दिल्ली सरकारले गत मे ७ मा ३.२१ करोड भारतीय रुपैयाँ लागतमा पाँच वटा क्लाउड सिडिङ ट्रायल गर्ने निर्णय गरेको थियो ।

क्लाउड सिडिङ भनेको बादलभित्र सिल्भर आयोडाइड, सोडियम क्लोराइड वा पोटासियम क्लोराइडजस्ता कणहरू छरेर वर्षा गराउन प्रयोग हुने वैज्ञानिक विधि हो । यी कणहरूले पानीका थोपाहरू जम्मा हुने केन्द्रको रूपमा काम गर्छन्, जसले वर्षा हुने सम्भावना बढाउँछ ।

मन्त्री सिरसाले यसलाई प्रदूषण नियन्त्रणतर्फ सरकारको ठूलो पहल बताएका छन् । उनका अनुसार आगामी दिनमा थप ट्रायल गरिनेछ । क्लाउड सिडिङ बुराडी क्षेत्रबाट सुरु भई बाहिरी दिल्लीका विभिन्न स्थान हुँदै मयूर विहारतर्फ गरिएको थियो ।

सिरसाले सामाजिक सञ्जाल ‘एक्स’ मा भिडियो सार्वजनिक गर्दै आईआईटी कानपुरले सेस्ना विमानमार्फत क्लाउड सिडिङ गरेको जानकारी दिए । विमान मेरठतर्फबाट दिल्ली प्रवेश गरी खेक्रा, बुराडी, नर्थ करोलबाग, मयूर विहार, सादकपुर र भोजपुर आसपास सिडिङ गरिएको उनले बताए । उनका अनुसार एक पटकको सिडिङमा आठ फ्लेयर प्रयोग गरिएको थियो, प्रत्येक फ्लेयर २ देखि २.५ किलोको र २–२.५ मिनेट चल्ने हुन्छ । ट्रायलमा करिब ३० मिनेट समय लागेको थियो ।

आईआईटी कानपुरको अनुमानमा १५ मिनेटदेखि ४ घण्टाभित्र हल्का वर्षा हुन सक्ने भए पनि ठूलो मात्रामा वर्षा हुने अपेक्षा छैन, किनकि बादलभित्र चिस्यान कम छ । मन्त्री सिरसाले यदि यो चरण सफल भए फेब्रुअरीसम्म थप सिडिङ कार्यक्रम अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु