गृहपृष्ठ जेनजी क्षति दाबीमा बीमाकर्ताबाट पौने ३ अर्ब अग्रिम भुक्तानी
जेनजी क्षति दाबीमा बीमाकर्ताबाट पौने ३ अर्ब अग्रिम भुक्तानी
भाद्र २२, २०८२
१२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका कारण भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले हालसम्म करिब २ अर्ब ८० करोड रुपैयाँ अग्रिम भुक्तानी गरेका छन् । बीमा प्राधिकरणले आन्दोलनको क्षतिमा बिमितलाई दाबी रकमको ५० प्रतिशतसम्म अग्रिम उपलब्ध गराउन निर्देशन दिएपछि बीमकहरूले उक्त रकम भुक्तानी गरेका हुन् ।
सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिका लागि दाबी रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसअनुसार प्राधिकरणले बिमितलाई सहजताका लागि अग्रिम भुक्तानी दिन बीमा कम्पनीहरूलाई आग्रह गरेको थियो ।
बीमा कम्पनीहरूले क्षतिको प्रारम्भिक मूल्यांकनपछि २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।
यद्यपि, हालसम्म बीमितहरूले जेनजी आन्दोलनमा परेको क्षतिको आधारमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको दाबी दर्ता गराएका छन् । प्राधिकरणका अनुसार १८ निर्जीवन बीमा कम्पनीमध्ये १५ कम्पनीले मात्र अग्रिम भुक्तानी गरेका छन् । कुल ३ हजार १ सय ८७ बीमितले दाबी गरेका छन् ।
राष्ट्रिय बीमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्सले अहिलेसम्म कुनै अग्रिम भुक्तानी गरेका छैनन् ।
सबैभन्दा धेरै दाबी परेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ अर्ब ४९ करोडको दाबीमध्ये एक अर्ब २८ करोड रुपैयाँ अग्रिम तिरिसकेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, द ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोडको दाबी परेको भए पनि अग्रिम भुक्तानी भने १ करोड ६६ लाख मात्रै भएको छ ।
क्षतिको विवरणअनुसार बीमा गरिएको सम्पत्तिमध्ये ६ सय ७३ सम्पत्ति बीमा, २ हजार २७० मोटर बीमा, १९२ इन्जिनियरिङ तथा ठेकेदार बीमा, १२ परिवहन बीमा र अन्य ४० गरी कुल ३ हजार १ सय ८७ दाबी परेका छन् । दाबी रकमको हिसाबले सबैभन्दा धेरै सम्पत्ति बीमामा १९ अर्ब १ करोड रुपैयाँको दाबी परेको छ ।
प्रदेशगत विवरणमा बागमती प्रदेशबाट सबैभन्दा धेरै दाबी परेका छन् । बागमतीबाट मात्र १७ अर्ब ६१ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ ।










