गृहपृष्ठ सबैको स्वास्थ्य पहुँच सुनिश्चित गर्न विश्वव्यापी सहकार्य अपरिहार्य : मन्त्री पौडेल

सबैको स्वास्थ्य पहुँच सुनिश्चित गर्न विश्वव्यापी सहकार्य अपरिहार्य : मन्त्री पौडेल


काठमाडौं, ७ बैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैका लागि स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्रोतको समुचित परिचालन र प्राथमिकताको स्पष्ट निर्धारण आवश्यक रहेको बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८औं विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा विद्यमान चुनौतीहरू समाधान गर्न नवप्रविधिको खोजी जारी रहेको उल्लेख गरे।

मन्त्री पौडेलले महामारी नियन्त्रणको पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र सशक्त अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य भएको बताए। उनले महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (WHO) द्वारा गरिएको प्रस्तावित सम्झौतालाई स्वागत गर्दै सदस्य राष्ट्रहरूबीच अझ बलियो सहकार्य आवश्यक रहेको धारणा राखे।

नेपालका उपलब्धिहरू विश्वमाझ प्रस्तुत

मन्त्री पौडेलले सम्मेलनमा नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उल्लेखनीय सफलताहरू विश्व समुदायसँग साझा गरे। मातृ तथा शिशु मृत्युदरमा उल्लेखनीय सुधार, पोलियो उन्मूलन तथा खोपको पहुँच विस्तारजस्ता उपलब्धिहरूलाई उनले नेपालको महत्वपूर्ण उपलब्धि बताएका थिए।

‘महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम र विद्यालय स्वास्थ्य कार्यक्रममार्फत सकारात्मक नतिजा प्राप्त गरेका छौं,’ मन्त्री पौडेलले भने। उनले तम्बाकूजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सरकारले लिएको पहल र त्यसले ल्याउने सकारात्मक प्रभावप्रति विश्वास व्यक्त गरे।

स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन, रोकथाममुखी स्वास्थ्य सेवा विस्तार, महामारीको पूर्वतयारी तथा डिजिटल स्वास्थ्य प्रणालीमा नेपालले विशेष ध्यान दिएकोसमेत उनले उल्लेख गरे।

जलवायु परिवर्तन र नयाँ स्वास्थ्य चुनौतीमा नेपाल चिन्तित

मन्त्री पौडेलले जलवायु परिवर्तनले नेपाली स्वास्थ्य क्षेत्रमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान त्यसतर्फ आकृष्ट गराए। ‘जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूसँग जुध्न हामीले सगरमाथा संवादमार्फत विश्वको ध्यानाकर्षण गराएका छौं,’ उनले भने।

वृद्ध जनसंख्या, घट्दो जन्मदर, आन्तरिक बसाइसराइ, नसर्ने तथा मानसिक रोगजस्ता समस्याले थप जटिलता उत्पन्न गरिरहेको भन्दै उनले यस्ता चुनौती समाधानका लागि संयुक्त प्रयास अपरिहार्य रहेको बताए।

मन्त्री पौडेलले आगामी दिनमा नेपालले जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा पनि गरे। सम्मेलनका क्रममा उनले विभिन्न देशका उच्चस्तरीय स्वास्थ्य अधिकारीहरूसँग भेटघाट गरी नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहकार्यको प्रस्ताव समेत राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु