गृहपृष्ठ कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनका कारण राष्ट्रिय राजनीतिमा विभिन्न सङ्कट उत्पन्न : खनाल
कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनका कारण राष्ट्रिय राजनीतिमा विभिन्न सङ्कट उत्पन्न : खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालको कम्युनिष्ट आन्दोलन सैद्धान्तिक विचलनको चपेटामा परेको बताएका छन्। उनले यही विचलनका कारण राष्ट्रिय राजनीतिमा विविध संकटहरू उत्पन्न भएको दाबी गरे।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र नं ८ कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले कम्युनिष्ट आन्दोलनले विगतका अनुभवबाट पाठ सिक्दै विगतका गल्ती तथा कमजोरी सच्याएर राष्ट्र निर्माणको कार्यमा गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।
उनले भने, “देश र जनताको पक्षमा क्रियाशील कम्युनिष्ट शक्तिहरू सिद्धान्त, नीति र कार्यक्रमको स्पष्ट मार्गदर्शनका आधारमा एकताबद्ध हुन आवश्यक छ।” उनले आफ्नै पार्टी एकीकृत समाजवादीले नेपाली समाजको मौलिकता र विशेषतालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम अघि सारेको दाबी गर्दै ती कार्यक्रमहरू जनपक्षीय रहेको उल्लेख गरे।
पूर्वप्रधानमन्त्री खनालले आर्थिक तथा सामाजिक विकासको मेरुदण्डका रूपमा समानता, सामाजिक निष्पक्षता र न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिए। त्यसका लागि आवश्यक संस्थागत संरचना निर्माण गर्नु अपरिहार्य रहेको उनको भनाइ थियो।
साथै, उनले पार्टीका नेता तथा कार्यकर्तालाई सांगठनिक विचार, सिद्धान्त र लक्ष्यलाई जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्न निर्देशन दिए। सांगठनिक हितका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्दै पार्टीलाई जनस्तरमा अझ प्रभावकारी बनाउनु पर्ने उनले बताए।









