गृहपृष्ठ लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट कार्यान्वयनमा जोड
लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट कार्यान्वयनमा जोड
मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ राख्दा ध्वनिमतबाट पारित भएको घोषणा गरेका हुन्।
दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेशसभा सदस्यहरूले भाग लिँदै विविध सुझावसहित आफ्नो धारणा राखेका थिए। सांसदहरूले प्रस्तुत नीति तथा कार्यक्रमलाई प्रदेश विकासको सशक्त खाका भन्दै त्यसलाई बजेटमार्फत कार्यान्वयन गर्न आग्रह गरेका थिए।
मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउँदै प्रभावकारी अनुगमन प्रणाली तयार पारिने जानकारी दिए। “रचनात्मक सुझावहरू प्राप्त भएका छन्। सहभागी सबै माननीयज्यूहरूलाई धन्यवाद दिन चाहन्छु,” उनले भने, “यहाँहरूले दिनुभएको सुझावलाई कार्यक्रमिक ढंगले अघि बढाउने प्रयास गरिनेछ। विषयगत मन्त्रालयमार्फत तिनीहरूको सम्बोधन सुनिश्चित गरिनेछ।”
उनका अनुसार नीति तथा कार्यक्रम वस्तुनिष्ठ, कार्यान्वयन योग्य, तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीलाई मनन गरेर तयार पारिएको हो। साथै, विगतका योजनाको मूल्यांकन, स्रोत र साधनको सीमा, र व्यावहारिक धरातललाई ध्यानमा राखेर नीति निर्माण गरिएको उनले स्पष्ट पारे।
मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट कार्यक्रमगत र आयोजनागत ढाँचामा प्रस्तुत गरिने तथा नीति तथा कार्यक्रमलाई त्यसअनुसार कार्यान्वयन गर्ने संकेत समेत दिएका छन्।










