गृहपृष्ठ समाजवादी क्रान्तिको अगुवाइ माओवादी केन्द्रले गर्नुपर्ने खनालको दाबी

समाजवादी क्रान्तिको अगुवाइ माओवादी केन्द्रले गर्नुपर्ने खनालको दाबी


लमही, २७ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव र लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवले समाजवादी क्रान्ति अब पार्टीको मुख्य कार्यभार भएको बताएका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले जनवादी क्रान्तिको नेतृत्व माओवादीले गरिसकेको र अब समाजवादी क्रान्तिको थालनी गर्ने जिम्मेवारी पनि माओवादीकै रहेको बताउनुभयो।

उहाँले अब केवल समाजवादी क्रान्तिको गफ गरेर मात्र काम नचल्ने र आधारभूत तहदेखि समाजवाद निर्माणको थालनी कस्तो गरी गर्ने भन्ने बहसमा केन्द्रित हुनुपर्ने बेला आएको स्पष्ट पार्नुभयो। अन्य दलहरूलाई समाजवादी क्रान्ति प्राथमिकतामा नरहेको उल्लेख गर्दै, यसका लागि नेतृत्व माओवादी केन्द्रले नै गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताए।

सचिव खनालले समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीलाई बलियो बनाउनु पर्ने र यसमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै पार्टी संगठनको बिस्तार गर्नुपर्ने कुरा उठाए। उहाँले पार्टीको माओवादी अभियानले जनतासँगको सम्बन्ध सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। अहिलेको पार्टी नीति अनुसार माओवादी सरकारमा नजाने र आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने तयारीमा जुट्नुपर्ने कुरा पनि उहाँले उल्लेख गर्नुभयो।

बैठकमा, जिल्ला संयोजक हरिमान पुन बरुणको अध्यक्षतामा केन्द्रीय सदस्यहरू, जिल्ला इन्चार्ज र अन्य नेताहरूको उपस्थितिमा नेताहरूको कार्य विभाजन, विभाग विस्तार तथा माओवादी अभियानको कार्यक्रम तय गरिएको कुरा जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु