गृहपृष्ठ विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : महामन्त्री शर्मा
विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : महामन्त्री शर्मा
पुस २१, २०८२
काठमाडौं, — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजित नहुने स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभाजन हुन सक्ने आशंका व्यक्त भइरहेका बेला शर्माले कांग्रेस पंक्तिलाई ढुक्क हुन आग्रह गरेका हुन्।
अनलाइनखबरसँग कुरा गर्दै महामन्त्री शर्माले भने, “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन।” विधानअनुसार माग गरिएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर होइन, झनै मजबुत बनाउने विश्वास उनले व्यक्त गरे।
पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी भइरहेको र त्यसका लागि काठमाडौंको भृकुटीमण्डपस्थित हल बुकिङ भइसकेको प्रचार गरिएको छ। विशेष महाधिवेशनका पक्षधर नेताहरूका अनुसार महाधिवेशनको कार्यविधि र एजेन्डा महाधिवेशन हलले नै तय गर्नेछ।
महामन्त्री शर्माले भने, “विशेष महाधिवेशनले पारित गर्ने एजेन्डा र कार्यविधि हलले नै बनाएर तय गर्छ।”
यसअघि २९ असोजमा २,४८८ प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाइएको थियो। मागकर्ताहरूले हस्ताक्षर संख्या अझै बढ्ने दाबी गरेका छन्।
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनमा संलग्न एक नेताले भने, “हस्ताक्षर फिर्ता लिन दबाब दिने प्रयास बढेको छ। केहीले फिर्ता लिन सक्छन्, तर समग्रमा हस्ताक्षर संख्या बढ्नेछ। अहिले ५४ प्रतिशत पुगेको समर्थन ६४ प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अनुमान छ।”










