गृहपृष्ठ प्रजातन्त्रको नाममा निरंकुशता स्वीकार्य छैन अध्यक्ष राजेन्द्र लिङ्देन
प्रजातन्त्रको नाममा निरंकुशता स्वीकार्य छैन अध्यक्ष राजेन्द्र लिङ्देन
१२ वैशाख, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्रको नाममा चलाइने निरंकुशताको निरन्तर विरोध गरिरहने बताएका छन्।
आजदेखि सुरु भएको बजेट अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानले दिएको अधिकार प्रयोग गरेर नै निरंकुशताको विरोध गरिरहेको बताएका हुन्।
उनले वर्तमान व्यवस्थाले देशका समस्याको समाधान दिन नसक्ने दाबी गर्दै राजादेखि गणतन्त्रवादीसम्म अटाउने नयाँ व्यवस्थामा जानुपर्नेमा जोड दिए।
‘हामीले यही संविधानको शपथ खाएका छौं। यसले नै आलोचना गर्न र संशोधन गर्ने अधिकार दिएको छ,’ लिङ्देनले भने, ‘अब ढिला गर्नु हुँदैन। राजादेखि गणतन्त्रसम्म सबै अट्ने मौलिक व्यवस्थामा सहमति गरौं।’
उनको धारणा थियो कि नेतामात्र बदलिँदा समस्याको समाधान नहुने भएकाले व्यवस्था नै परिवर्तन आवश्यक छ।
उनले भने, ‘नेताहरू भ्रष्टाचार गर्छन्। अख्तियार र अदालतले छानबिन गरेर कारबाही गर्नु पर्छ तर ती निकायमा सिफारिसकै भरमा नियुक्ति हुने मान्छे छन्। न्यायाधीशहरू पनि नेताहरूले नै सिफारिस गरेका छन्। यस्तो प्रणालीले समाधान दिन सक्दैन, त्यसैले आमूल परिवर्तन अपरिहार्य छ।’








