गृहपृष्ठ “गगन थापाको अभिव्यक्तिपछि वर्षमान पुनको चेतावनी : सरकार स्वार्थ समूहको कठपुतली बनेको पुष्टि भयो”
“गगन थापाको अभिव्यक्तिपछि वर्षमान पुनको चेतावनी : सरकार स्वार्थ समूहको कठपुतली बनेको पुष्टि भयो”
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सत्तारूढ गठबन्धनमै रहेका नेताको अभिव्यक्तिलाई आधार बनाई वर्तमान सरकार विचौलियाको दबावमा सञ्चालन भइरहेको खुलासा गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले सरकारको कार्यशैलीले स्वार्थ समूह र प्रतिशोधप्रेरित कदमहरू मात्र दोहोर्याएको आरोप लगाउँदै भने, “विचौलिया, दलाल र शक्तिशाली स्वार्थ समूहहरूको प्रभाव अहिले शासनको केन्द्रसम्म पुगेको छ । हामीले पहिले भनिरहेकै कुरा अहिले सत्तारूढ दलकै नेताले सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।”
उनले सरकारको प्राथमिकता नीतिगत सुधारभन्दा व्यक्तिगत हितपूर्तिमा सीमित भएको उल्लेख गर्दै प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच पुगेको आरोप गम्भीर र प्रमाणित हुने खालको रहेको बताए । गभर्नर नियुक्ति प्रक्रियामा समेत यिनै तत्वहरूको हावी हुने प्रयास देखिएको भन्दै उनले सरकारको वैधता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।








