गृहपृष्ठ गठबन्धन सरकारको ‘प्रशासनिक जडता’ विरुद्ध गगन थापाको सार्वजनिक असन्तुष्टि
गठबन्धन सरकारको ‘प्रशासनिक जडता’ विरुद्ध गगन थापाको सार्वजनिक असन्तुष्टि
२८ चैत, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले अपेक्षाअनुसार कार्य गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक संयन्त्रले दिएको सिफारिसलाई सरकारले बेवास्ता गरेको संकेतसमेत गरे।
कांग्रेसले काठमाडौंमा बिहीबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले भने, “सरकारले जुन गतिमा काम गर्नु आवश्यक छ भन्ने हाम्रो अपेक्षा हो, त्यो अनुरूप काम हुन सकेको छैन। म स्वयं पनि संयन्त्रको जिम्मेवारीमा छु। त्यस संयन्त्रको मुख्य कार्य भनेको सरकारलाई नीतिगत सुधारमा दबाब दिनु हो। केपी शर्मा ओली नेतृत्वको सरकार राम्रो काम गरोस् भनेर सहयोग गरिरहेका छौं, तर बिँड तातेर मात्रै केही नहुने रहेछ, ताप्के पनि तात्नुपर्ने रहेछ।”
एमाले-कांग्रेस नेतृत्वको गठबन्धन सरकारले अपेक्षित उपलब्धि दिन नसकेको भन्दै थापाले निरन्तर प्रश्न उठाइरहेको पनि बताए।
संवैधानिक राजसंस्थाप्रति कांग्रेसको सम्मान, तर राजाहरूलाई अपच
महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै हालतमा संवैधानिक राजा बन्न नसक्ने दाबी गरेका छन्। कांग्रेसले संवैधानिक राजसंस्थाप्रति सधैं सम्मान दर्शाएको भए पनि राजाहरूले त्यसलाई आत्मसात् गर्न नसकेको उनको भनाइ छ।
“बीपी कोइरालामाथि राजद्रोहसहित सात–सात वटा मुद्दा लाग्दा पनि उहाँले बोकेर हिँड्नुभयो, गिरिजाबाबुले ढुंगामुढासम्म सहनुभयो तर सधैं संवैधानिक राजसंस्थाको पक्षमा रहनुभयो। तर राजाले उल्टै कांग्रेसलाई नै दुःख दिने काम गरे,” थापाले आरोप लगाए।
उनले कांग्रेसले लामो संघर्ष र ऐतिहासिक अनुभवपछि संवैधानिक राजसंस्था राख्न नसकिने निष्कर्षमा पुगेको स्पष्ट पारे।
थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै भने, “अहिले निर्मल निवासमा हुँदा नै काठमाडौंमा यति धेरै उत्पात मच्चिएको छ भने, नारायणहिटीमै भएको भए के हुन्थ्यो, कल्पना गर्नुहोस्।”
उनको धारणा अनुसार, “शाहलाई जतिसुकै धोएर सफा गरे पनि संवैधानिक राजा बन्न उपयुक्त छैनन्।”










