गृहपृष्ठ फरार कैदी र लुटिएका हतियारले चुनाव बिथोलिँदैन : गृहमन्त्री अर्याल
फरार कैदी र लुटिएका हतियारले चुनाव बिथोलिँदैन : गृहमन्त्री अर्याल
मंसिर १६, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण आसन्न चुनाव प्रभावित नहुने बताएका छन्।
मंगलबार धनगढीमा गृह मन्त्रालयद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले फरार कैदीबन्दी पक्राउ गर्ने तथा लुटिएका हतियार बरामद गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको बताए।
भदौ २३–२४ का घटनामा ४ हजार ५५२ कैदीबन्दी र बालबन्दी अझै फिर्ता हुन बाँकी रहेको उनले जानकारी दिए। जघन्य प्रकृतिका अपराधमा सम्लग्न फरारको संख्या भने कम रहेको उनको दाबी छ।
लुटिएका हतियारमध्ये ७२७ थान बरामद भइसकेको बताउँदै अर्यालले बाँकी हतियारको संख्या संवेदनशीलताको कारण खुलाउन नसकिने बताए।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले फरार कैदीबन्दी र हतियारका कारण चुनावमा चुनौती आउन सक्ने भन्दै व्यक्त गरेको चिन्ताको जवाफमा गृहमन्त्रीले निर्वाचन बिथोलिन नदिने दृढता व्यक्त गरे।
उनका अनुसार राजनीतिक दलका शान्तिपूर्ण गतिविधिमा अवरोध नहोस् भनेर सरकार प्रतिबद्ध छ र शान्ति–सुरक्षा सुनिश्चित गर्दै चुनाव गराउने गृह मन्त्रालयको म्यान्डेट पूरा गरिनेछ।









