गृहपृष्ठ विराटनगर महानगर भवन आगजनीपछि प्रयोग अयोग्य

विराटनगर महानगर भवन आगजनीपछि प्रयोग अयोग्य


आश्विन ७, २०८२

विराटनगर — जेन–जी आन्दोलनको पहिलो दिन भदौ २३ गते विराटनगर महानगरपालिकाको कार्यालय भवनमा तोडफोड प्रयास भएको थियो। त्यसपछिल्लो दिन भदौ २४ गते उग्र बनेको प्रदर्शनका क्रममा कार्यालयमा आगजनी भएपछि तीन दिनसम्म आगो नियन्त्रणमा आउन सकेन।

लामो समयसम्म आगो बल्दा भवनका पिलर, बिम र स्लाबमा गम्भीर क्षति पुगेको प्रारम्भिक प्राविधिक परीक्षणले देखाएको छ।

मनमोहन प्राविधिक विश्वविद्यालय, नेपाल इन्जिनियरिङ एसोसिएसन कोशी र पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरहरूले गरेको ‘र्‍यापिड भिजुअल एसेसमेन्ट’ अनुसार दुईमध्ये ४० वर्ष पुरानो भवन र १६ वर्ष पुरानो नयाँ भवन दुवै प्रयोग अयोग्य देखिएका छन्।

प्रा.डा. रेखा श्रेष्ठका अनुसार भवनको पहिलो तलामा रहेका मुख्य बिम र पिलर धेरै समयसम्म जलेका कारण भारवहन क्षमता निकै कमजोर भएको छ। उनले पुरानो भवनको सभा हलको छत र पिलरले भारवहन क्षमता गुमाइसकेको, नयाँ भवनको पिलरको क्षमता पनि ११ मेगा पास्कलमा मात्र झरेको बताइन्।

“तत्काल प्रयोग गर्न सक्ने अवस्था छैन। अझै जलेको कङ्क्रिट ल्याबमा परीक्षण गरेपछि मात्रै वास्तविक नतिजा आउँछ,” उनले भनिन्।

आगोले सिमेन्ट र रडबीचको पकड समेत गुमेका कारण सानो भुइँचालोमा समेत थप क्षति पुग्ने जोखिम रहेको इन्जिनियरहरूको निष्कर्ष छ।

महानगरले विस्तृत परीक्षणपछि मर्मत सम्भव छ कि छैन भन्ने टुंगो लगाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु